२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर नगरपालिकाद्वारा खेलाडीलाई सम्मान

बिहिवार , आश्विन २७, २०७९

भैरहवा, २७ असोज ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ । नवौं राष्ट्रिय खेलकुद–२०७९ प्रतियोगिताको लागि लुम्बिनी प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा ८० केजी बढी तौल समूहमा प्रथम भएका खेलाडी विष्णु निसादलाई नगरपालिकाले सम्मान गरेको हो ।

नगरप्रमुख इश्तियाक अहमद खानले टीका, खादा ओढाएर सम्मानपत्र र व्यक्तिगत रुपमा ११ हजार रुपैयाँसहित सम्मान गरे ।
बिहिवार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खानले स्वस्थ शरीरमै स्वास्थ मस्तिष्कको विकास हुने भन्दै शारीरिक सुगठन जस्ता खेलहरु खेल्नु पर्ने बताए । उनले सिद्धार्थनगर/लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नवौं राष्ट्रिय खेलकुदमा सहभागी भइ गोल्ड मेडल प्राप्त गरी गृहनगरमा फर्किन शुभकामना दिए । उनले स्वास्थ्य शरीरका लागि सबैले कुनै न कुनै खेल खेल्नुपर्ने आवश्यकता रहेको बताए ।

सिद्धार्थनगरका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्सालले शारीरिक सुगठन स्वास्थ्यका लागि अत्यन्त जरुरी रहेको भन्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुभकामना व्यक्त गरे ।

पोखरामा नवौं राष्ट्रिय खेलकुद–२०७९ प्रतियोगिता हुन लागेको छ । जसमा निसादले शारीरिक सुगठन खेलमा ८० केजी बढी तौल समूहतर्फ लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने छन् ।

खेलाडी विष्णु निसादले आफुले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकमै नगरको नाम उच्च रहने गरी खेल खेल्ने बताए । उनले आफू गोल्ड मेडलसहित गृहनगरमा फर्किने गरी खेल प्रदर्शन गर्ने बताए ।