
बुधवार , कार्तिक १९, २०७७
भैरहवा, १९ कार्तिक ।
लुम्बिनी प्रदेशको रुपन्देहीमा टिप्पर, हाईवा लगायतका सवारीसाधनको तीव्र गतिका कारण सडक दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणको लागि ठोस कदम चाल्न माग गरिएको छ ।
सामाजिक अभियन्ता, अभिवक्ता तथा समाजशास्त्री प्रख्यात बञ्जाडेले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै टिप्परको तीव्र गतिका कारण दुर्घटना बढेकोले यसको न्यूनीकरणको लागि आवश्यक कदम चाल्नुपर्ने माग गरेका हुन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर वि.क. र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेललाई ज्ञापनपत्र बुझाउँदै बञ्जाडेले यस्तो माग गरेका हुन् ।
टिप्पर, हाईवाबाट विशेष गरी नेपाल सरकारले दिएको मापदण्डविपरीत ढाला भन्दामाथी सामान बोक्न नहुने, सरकारले दिएको भार बहन क्षमता भन्दा बढी ओभरलोड गर्न नहुने, ढालामाथि अनिवार्य रुपमा त्रिपाल लगाउनुपर्ने, टिप्पर हाईवाको कच्चापदार्थ वा अन्य सामानहरु एक ठाउँदेखि अर्को ठाउँमा जानुपरेमा अनिवार्य रुपमा एउटा निश्चित ठाउँलाई आधार मानी त्यहाँबाट टाईमकार्ड लागु गर्नुपर्ने बञ्जाडेले ज्ञापनपत्रमार्फत माग गरेका छन् ।
कुनै पनि देशमा सवारीसाधनको बम्फरमुनी तल मात्र हेलोजन लाइट, फग लाइटराख्न पाउने प्रावधान भए पनि बम्फर भन्दा माथी कम्पनीले दिएको लाइटबाहेक अन्य कुनै बत्ती राख्ने नपाइने भएकोले अनावश्यक लाइटहरुलाई अनिवार्य रुपमा हटाउनुपर्ने बञ्जाडेले बताए ।
अनावश्यक लाइटका कारण विपरीत दिशाबाट आउने सवारीसाधनको चालकको आँखामा प्रत्यक्ष असर पर्ने र आँखाको नानीमा समेत त्यसको प्रत्यक्ष असर पर्ने कारण दुर्घटना हुने गरेको उनले बताए ।
त्यस्तै विभिन्न सवारीसाधनबाट हुने दुर्घटना नियन्त्रण गर्नका लागि सडकको छेउछाउमा गति देखिने चिन्ह राख्नुपर्ने, तीव्र गति (ओभर स्पीड) नियन्त्रणका निम्ति अविलम्ब रुपमा स्पेडो मिटर (लेजर गन) ट्राफिक प्रहरीले प्रयोग गर्नुपर्ने र अनावश्यक बेरिकेटिङलाई अविलम्ब हटाई नेपालको यात्रालाई सुरक्षित यात्रामा परिणत गर्नुपर्ने उनको माग छ ।
नक्कली सवारीचालक अनुमति पत्र बोकेर सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढी भएकोले यस्ता गतिविधिलाई नियन्त्रण गर्न चेकजाँच गरी यसको नियमन गर्नुपर्ने बञ्जाडेले ज्ञापनपत्रमार्फत माग गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij