२०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

भैरहवामा यामाहा एक्सएसआर १५५ सार्वजनिक

शनिवार , आश्विन २४, २०८३

  • 304
    Shares
  • 304
    Shares
  • भैरहवा, २४ असोज । यामाहाको प्रिमियम नियो–रेट्रो मोटरसाइकल यामाहा एक्सएसआर १५५ रुपन्देहीको भैरहवामा सार्वजनिक गरिएको छ । भैरहवाका लागि यामाहाको आधिकारिक डिलर दुर्गा अटोमोबाइल्स प्रा. लि.मार्फत नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बिक्री–वितरणसमेत सुरु गरिएको हो ।

    मोटरसाइकलको सार्वजनिक प्रमुख अतिथि पर्यटन व्यवसायी तथा समाजसेवी अमित कुमार गुप्ताले गर्नुभएको हो । नयाँ ब्लुसहित विभिन्न रङका भेरियन्टमा उपलब्ध मोटरसाइकलले क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजनलाई प्राथमिकता दिएको छ ।

    यामाहा एक्सएसआर १५५ मा १५५ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यसमा यामाहाको भेरिएबल भल्भ एक्चुएसन (भीभीए) प्रविधि प्रयोग गरिएको छ, जसले विभिन्न गतिमा इन्जिनको कार्यक्षमता र पावर डेलिभरीलाई प्रभावकारी बनाउन सहयोग गर्छ । मोटरसाइकलले करिब १९.३ पीएस अधिकतम पावर र १४.७ एनएम टर्क उत्पादन गर्ने विवरण दिइएको छ । यसमा ६–स्पिड गियरबक्स र असिस्ट एन्ड स्लिपर क्लचसमेत रहेको छ ।

    डिजाइनका हिसाबले मोटरसाइकलमा गोलाकार एलईडी हेडलाइट, एलईडी टेललाइट, टक एण्ड रोल शैलीको सिट र पूर्ण डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । क्लासिक रेट्रो लुकसँगै आधुनिक फिचर समेटिएकाले यो मोटरसाइकल विशेषगरी फरक डिजाइन रुचाउने युवा तथा मोटरसाइकलप्रेमीका लागि आकर्षक विकल्प बन्न सक्नेछ।

    मोटरसाइकलमा डेल्टाबक्स फ्रेम, अगाडि सुनौलो रङको अपसाइड डाउन (यूएसडी) फोर्क र पछाडि मोनोसक सस्पेन्सन रहेको छ । अगाडि तथा पछाडि डिस्क ब्रेक र एबीएसजस्ता सुरक्षा सुविधाले यसको नियन्त्रण तथा ब्रेकिङ क्षमतामा सहयोग पुर्याउँछन् । ड्युअल पर्पस ट्युबलेस टायरका कारण सडकका विभिन्न अवस्थालाई ध्यानमा राखेर यसको डिजाइन गरिएको छ ।

    ddw.jpg

    यो मोटरसाइकलको इन्धन ट्यांकी क्षमता १० लिटर रहेको छ । यसको माइलेज सामान्य अवस्थामा प्रतिलिटर ४० देखि ४५ किलोमिटरसम्म हुन सक्छ । यद्यपि वास्तविक माइलेज सवारी चलाउने तरिका, सडकको अवस्था र मर्मतसम्भारमा निर्भर गर्छ । यसको ग्राउन्ड क्लियरेन्स करिब १७० मिलिमिटर र कर्ब वेट करिब १३४ किलोग्राम रहेको बताइएको छ । 

    आधुनिक प्रविधि, आकर्षक रेट्रो डिजाइन र दैनिक आवागमनसँगै लामो यात्रालाई ध्यानमा राखेर तयार गरिएको यामाहा एक्सएसआर १५५ भैरहवामा सार्वजनिक भएसँगै स्थानीय ग्राहकले पनि यसको बिक्री–वितरणमार्फत खरिद गर्न सक्ने भएका छन । यो मोटरसाइकलको बजार मूल्य ५ लाख ३४ हजार ९ सय रहेको छ ।