२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

तिलोत्तमामा ६० बिगाहामा चक्लाबन्दी आलु खेती 

किसानलाई बिउ, मलखाद र औजारमा सहयोग 

सोमवार , कार्तिक १७, २०७७

भैरहवा, १७ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यो वर्षबाट ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन नगरपालिकाले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराएको हो ।  

किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन नगरपालिका र युएनडिपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आलुको बिजवृद्धि परियोजना सञ्चालन गरेको छ । निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत सात बिगाहासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् । नगरपालिका, युनएनडिपी र किसानको २ करोड ६३ लाख ७ हजार ६८८ रुपैंयाँ लागत सहभागितामा सञ्चालन गरिएको परियोजनामार्फत् किसानलाई अनुदानमा बिउ, मलखाद, कृषि उपकरण उपलब्ध गराइएको छ । त्यस्तै किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ नियुक्त गरिएको छ ।  

यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिँदैछ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बिऊको रुपमा विक्री गर्ने गरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारीकी व्यवस्थापक जमुना गिरीको भनाइ छ । परियोजनाले समूहलाई आलुको ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायतका काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर ट्रेलर मेसिन उपलब्ध गराएको छ । 

तिलोत्तमा नगरप्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्न किसानलाई आग्रह गर्दै चक्लाबन्दीमा खेती गर्ने किसानलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने बताए । व्यवसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखिएको उनको भनाइ छ । यस क्षेत्रमा गुणस्तरीय बिऊ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत उत्पादित बिऊले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो टेवा पुर्‍याउने नगरपालिकाको अपेक्षा छ । 

निर्वाहमूखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बिउ नपाउँदा लागत अनुसारको उत्पादन लिन सकेका छैनन् । नगरपालिकाले आलु उत्पादक कृषक समूहलाई दिगो बनाउन आगामी वर्षमा समेत बजेटको यथोचित व्यवस्था गर्ने नगरप्रमुख घिमिरेले बताए । आलुको आयात प्रतिस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ । 

समूहहरुमध्ये वडा नम्बर १० को दूर्गामन्दिर अन्नबाली उत्पादक कृषक समूहले सबैभन्दा बढी सात बिगाहामा आलु खेती गरेको छ । यस्तै वडा नम्बर ७ को दर्शनटोला खाद्यान्न कृषि समूहले ६ बिगाहा, वडा नम्बर १० को धानखेतमा माछा पालन कृषक समूह, वडा नम्बर १२ को समैंया मकै उत्पादन कृषि समूह, वडा नम्बर १६ को बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहले पाँच/पाँच बिगाहामा आलु खेती गरेका छन् । 

IMG_3995.JPGत्यस्तै वडा नम्बर ७ का सेमरा बजार तरकारी उत्पादक कृषक समूह, पंगेनी खाद्यन्न बाली उत्पादक कृषक समूह, वडा नम्बर ११ का प्रजारानी कृषक समूह, आधुनिक तरकारी बाली उत्पादक कृषक समूह, कमलपोखरी कृषक समूह, वडा नम्बर १२ को बुद्धभूमि तरकारी उत्पादक कृषक समूहले तीन/तीन बिगाहामा आलु खेती गरेका छन् । वडा नम्बर ४ का क्षितिज नमूना कृषक समूह, विष्णुभक्त तरकारी उत्पादक समूह, महिला जनसेवा आलु उत्पादक सहकारी संस्थाले साढे दुई बिगाहाका आलु खेती गरेका छन् । वडा नम्बर १० को कोटहीमाई अन्नबाली उत्पादक कृषक समूहले दुई तथा रोहिणी अन्नबाली उत्पादक कृषक समूह, कुञ्ज तरकारी उत्पादक कृषक समूह, चन्द्रसूर्य खाद्यान्न उत्पादक कृषक समूह, आर्दश तरकारी बाली उत्पादक समूह, आर्दश तरकारी बाली उत्पादक समूह, प्रगतिशील महिला विकास सहकारीले एक/एक बिगाहामा आलु खेती गरेका छन् ।