
बुधवार , चैत्र २, २०७८
बुटवल-बुटवलको तिनाउ इन्टरनेशनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन्।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रिया गर्नेक्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानबिन, दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन्। मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। अस्पतालमा तनाव बढेपछि अहिले प्रहरीले शुरक्षा दिएको छ।
सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो। ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो।
'३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको थियो तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्यौं, अवस्था नर्मल छ आत्तिनुपर्दै भनेका थिए, फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेका थिए तर त्यसको केहीबेरमै मृत्यु भएको भनियो-भान्जा हेमलालले बताए।
४ वर्ष अघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भाँचिएपछि शल्यक्रिया गर्न भर्ना भएका थिए। उपचार अघि गरिएको एक्सरेमा रड भांचिएको नदेखिएको तर पछि रड भांचिएको भनिएको हेमलालले बताए।
उपचारमा संलग्न चिकित्सकहरुलाई उदृढ गर्दै अध्यक्ष चिरञ्जीवि जोशीले भने -‘बिरामीको ५ घण्टा लामो अप्रेसन गरिएको थियो, अप्रेसन गर्दा उनको स्वास्थ्य अवस्था सामान्य नै थियो, पछि उनलाई आइसीयूमा राखियो, एक्कासी रक्तचाप घटेपछि प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको हो भन्नुभएको छ, अस्पताल र चिकित्सकको लापरबाहीको कारण होइन।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij