
बुधवार , चैत्र २, २०७८
परासी, २ चैत ।
रामग्राम नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न मेयर छात्रवृत्ति वितरण गरेको छ भने विपन्न विद्यार्थीहरुको पठनपाठनमा सहज होस् भन्दै पुस्तक वितरण गरेको छ । नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले एक कार्यक्रमबीच पाल्ही बहुमुखी क्याम्पसका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै पुस्तक क्याम्पसको पुस्तकालयमा रहने गरी क्याम्पस प्रमुख कैलाश ठाकुरलाई हस्तान्तरण गरे ।
मंगलबार क्याम्पक सञ्चालक समितिका कार्यबाहक अध्यक्ष गजानन्द पटेलको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण र पुस्तक हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले क्याम्पसको शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीहरुको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले क्याम्पसको पुस्तकालयमा ५ लाख रुपैयाँ बराबरको एजुकेशन तथा म्यानेजमेन्ट फेकल्टीका विभिन्न सब्जेक्टिभ पुस्तकहरु नगरप्रमुख गुप्ताले हस्तान्तरण गरे ।
त्यस्तै छात्रवृत्तिका लागि क्याम्पसले गराएको आन्तरिक प्रतिष्पर्धामार्फत छनौट भएका बी.एड. र बी.बी.एसका तर्फबाट गरी कुल ४० जना छात्रछात्रालाई ५ हजारका दरले मेयर छात्रवृत्ति नगरप्रमुख गुप्ताले वितरण गर्दै अध्ययनमा ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरे । छात्रवृत्ति पाएपछि विद्यार्थीहरु खुशी हुदै थप उर्जा मिलेको बताए ।
कार्यक्रममा छात्रवृत्रि र पुस्तक वितरण गर्दै नगरप्रमुख गुप्ताले क्याम्पसको पूर्वाधार विकास र शैक्षिक गुणस्तरका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्याम्पसका विद्यार्थीहरुको सहजता लागि बस खरिदका लागि अनुदान रकम क्याम्पसलाई दिइसकिएको जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाको शिक्षा शाखा प्रमुख शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मीले नगरभित्रका क्याम्पस र विभिन्न विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार, शिक्षक दरबन्दी, छात्रवृत्ति, अनुदान र पुस्तक तथा प्रशिक्षण सामग्रीहरु नगरपालिकाबाट सहयोग गर्दै आइएको जानकारी दिए । कार्यक्रममा क्याम्पस प्रमुख कैलाश ठाकुरले मेयर छात्रवृत्ति र पुस्तक हस्तान्त्रण एक ऐतिहासिक कार्य रहेको प्रशंसा गर्दै यसको निरन्तरका लागि नगर प्रमुखलाई आग्रह गरे ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष गजानन्द पटेल, लेखा संयोजक अनिल कुमार गौड, सञ्चालक समिति सदस्य संजय कुमार शर्मा लगायतले क्याम्पसको चौतर्फी विकासका लागि रामग्राम नगरपालिकासहित यहाँका सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको जिकिर गरे । मेयर छात्रवृत्ति वितरण र पुस्तकालयमा पुस्तक आएपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीमा उत्साह थपिएको र पठनपाठनमा निकै सहज हुने विद्यार्थीहरुको विश्वास छ ।
क्याम्पसमा ग्रामीण क्षेत्रका विद्यार्थीहरु बढी रहेकाले आर्थिक अभाका कारण पुरै पुस्तक किन्न सक्ने अवस्था नभएकाले यी पुस्तकबाट उनीहरुलाई पठनपाठन निकै सहज हुने विश्वास लिइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij