
बिहिवार , फाल्गुण २६, २०७८
भैरहवा, २६ फागुन ।
भीम अस्पताल विकास समिति, भैरहवाका नवनियुक्त अध्यक्ष कुल प्रसाद न्यौपानेले सबैको सहयोग लिएर अस्पतालको विकास गर्नेतर्फ ध्यान रहने बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारबाट अध्यक्षमा नियुक्त भइ बिहीबार पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले अस्पताल प्रशासन स्वस्थ हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अस्पताल प्रशासनले प्रतिवद्धताका साथ काम गर्नुपर्छ । ’आफू यस अघि भीम अस्पताल विकास समिति सदस्यको रुपमा समेत काम गरिसकेको र त्यो बेला अस्पतालको मास्टरप्लान बनाइएको उनले बताए । स्वास्थ्य उपचार महंगो हुँदै गएकोले नागरिकले सस्तोमा सेवा लिन पाउनुपर्ने बताए । उनले भने, ‘म अस्पताल विकास समितिको सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्ष हुँदा नै मेरो रोजाइमा अस्पतालको स्तरोन्नति थियो । ’कोभिडको बेला सरकारी अस्पताल पनि चाहिदो रहेछ भन्ने कुराको महसुस भएको उनको भनाइ थियो । कोरोना महामारीमा भीम अस्पतालले निकै नै सहयोग गरेको अध्यक्ष न्यौपानेले बताए । उपचार गर्न आउने कोरोना संक्रमित बिरामीको मृत्युदर निकै नै कम भएको उनले बताए ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले संयम भएर काम गर्नुपर्ने बताए । उनले काम गर्ने वातावरण हुनुपर्ने बताए । उनले नगरपालिकाबाट अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘मिलेर अगाडी बढौं, अस्पतालको विकासका लागि काम गरौं ।’
भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले कुनै पनि काम गर्न जनशक्ति र पूर्वाधार आवश्यक पर्ने बताइन् । उनले सल्लाह सुझाव अनुसार नै अगाडी बढ्ने बताइन् । अस्पतालको स्तरोन्नतिका लागि लागिपरेको उनको भनाइ थियो ।
अस्पताल विकास समितिका पूर्व अध्यक्ष दीपक क्षेत्री न्यौपानेले भीम अस्पताललाई आफ्नो सम्पत्ति मान्नुपर्ने बताए । उनले भने, ‘यहाँ विभिन्न सेवा सुविधा उपलब्ध छ, भीम अस्पतालबाट टाढा नजानुस् ।’
नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सह–सचिव विष्णु थापाले अस्पतालमा सेवाग्राहीले राम्रो सेवा पाएको अनुभुति होस् भन्दै शुभकामना व्यक्त गरे । कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले शिक्षा र स्वास्थ्यमा राज्यको ध्यान पुग्न नसकेको बताए । कांग्रेस क्षेत्र नम्बर ३ का पूर्व सभापति मात्रिका प्रसाद यादवले अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीलाई सम्मानजनक व्यवहार हुनुपर्नेमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा भीम अस्पताल विकास समितिका पूर्व सदस्य महेन्द्र कुमार श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघले अस्पताललाई सहयोग गर्दै आएको बताए । कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले कोरोना महामारीको बेला अस्पतालले राम्रो काम गरेको भन्दै स्वास्थ्यकर्मीको सम्मान हुनुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका नायब सुब्बा बालकृष्ण आचार्यले अस्पतालसंग निरन्तर सहकार्य गर्दै जाने बताए । लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश केसीले भीम अस्पताललाई नमूना अस्पताल बनाउन सञ्चार क्षेत्रबाट रचनात्मक सहयोग हुने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले भीम अस्पताललाई सुविधासम्पन्न बनाउँदै रिफर नगरी यही उपचार गर्ने व्यवस्था हुनुपर्ने बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, अस्पतालका सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेको स्वागत तथा प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पदभारग्रहण गरेका भीम अस्पताल विकास समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता लगायतले स्वागत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij