२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

तिलोत्तमाले गर्‍यो पूर्ण खोप सुनिश्चितता घोषणा सार्वजनिक

सोमवार , फाल्गुण १६, २०७८

भैरहवा, १६ फागुन ।  
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककै पहिलो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

आइतबार गरिएको घोषणालाई सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले सार्वजनिक गरेका हुन् । नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणा अनुसार तिलोत्तमालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ ।

त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माले तिलोत्तमाले नगरलाई पूर्ण खोप घोषणा गरेर नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताए । तिलोत्तमाले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता अन्य पालिकाका लागि सिकाइ बनेको बताउँदै घोषणालाई दिगो बनाइनुपर्नेमा जोड दिए ।  

त्यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तिलोत्तमा कार्यविधि अनुसार काम गरेर मुलुकमै पहिलो कोरोनाविरुद्धको खोप सुनिश्चितता भएको पालिका बन्न सफल बनेको बताए । उनले अब बुष्टर डोजलाई पनि यसैगरी अघि बढाउनुपर्ने बताए ।

नगरप्रमुख बासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै खोपको दिगोपनको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताए । त्यसअवसरमा जिल्ला खोप समन्वय समितिले नगरपालिकालाई पूर्ण खोप भएको प्रमाणपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नगर अध्यक्ष तामानाथ पाण्डेय, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल शिक्षक महासंघ तिलोत्तमा अध्यक्ष खेमराज पाण्डेय, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेल, स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल लगायतले बोलेका थिए । कार्यक्रम नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको हो ।

तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८ सय ८६ जना रहेका छन् । लक्षित जनसंख्या ९५ हजार ९ सय ६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

नगरपालिका भन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्य भन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ । परिवार सर्वेक्षण गरेर छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोनाविरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो ।

खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरेका व्यक्तिहरुलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिले समेत अनुगमन गरेर तिलोत्तमालाई पूर्ण खोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ । नेपालमा हालसम्म १२ वर्षमाथिका व्यक्तिलाई मात्र कोरोना विरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाले वडा–वडामा पुगेर खोप कार्यक्रम सञ्चालन गरे पनि विभिन्न समुदायका व्यक्तिहरु छुटेको पाइएपछि यही फागुन ५ गते बसेको नगरस्तरीय खोप समन्वय समितिको बैठकले घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको थियो । सोहीअनुसार घरधुरी सर्वेक्षणबाट प्राप्त छुट भएका व्यक्तिलाई सम्बन्धित वडामा खोप लगाइएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार वडा नम्बर ३ मा सबैभन्दा बढी १२ हजार ६३० जनाले खोप लगाएका छन् । त्यस्तै वडा नम्बर ४ मा ११ हजार २ सय ७० जनाले खोप लगाएको नगरपालिकाको तथ्यांक छ । घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट खोप आपुर्ति गरि खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । उनका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरीय खोप समन्वय समितिमा पूर्ण खोप घोषण एवं सुनिश्चितताका लागि प्रतिबद्धता पत्र समेत प्राप्त भएको छ ।

नगरपालिकाले तीन सय घरधुरीमा पूर्णखोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट नभएको पाइएकोले नगरपालिकास्तरीय खोप समन्वय समितिको बैठकले जिल्लास्तरीय खोप समन्वय समिति लगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीलाई पूर्ण खोप घोषणा सुनिश्चितता गर्न सहमतिका लागि पत्राचार गरेको थियो ।

सोही पत्रको आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड–१९ पूर्णखोप सुनिश्चितताको लागि घरधुरी र्यापिड कन्ट्रयाक सर्वेक्षण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । तिलोत्तमाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु खोप लगाउन विभिन्न बस्ती, समुदाय तथा इँटाभट्टामैं पुगेर खोप लगाउन छुटेकाहरुलाई खोप लगाएका थिए ।

तिलोत्तमा नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट ८ हजार ८३८ जना संक्रमित भएका छन् । कोरोनाबाट २०१ जनाको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा २०७७ माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । तिलोत्तमा नगरपालिकाले कोरोना महामारीबाट नगरबासीलाई बचाउन ६० बेडको अस्थायी कोरोना अस्पताल स्थापना गरेको छ ।