
सोमवार , फाल्गुण १६, २०७८
भैरहवा, १६ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा सम्भवत मुलुककैं पहिलो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको छ ।
नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणा अनुसार पूर्ण खोप सुनिश्चितता कार्यविधिमा रहेर नगरपालिका कोरोनाविरुद्धको खोप सुनिश्चित पहिलो पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् । लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षित भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
नगरपालिका भन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्य भन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ । परिवार सर्वेक्षण गरेर छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोनाविरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो ।
खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरेका व्यक्तिहरुलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिले समेत अनुगमन गरेर तिलोत्तमालाई पूर्ण खोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ । नेपालमा हालसम्म १२ वर्षमाथिका व्यक्तिलाई मात्र कोरोनाविरुद्धको खोप लगाइएको छ ।
नगरपालिकाले वडा–वडामा पुगेर खोप कार्यक्रम सञ्चालन गरे पनि विभिन्न समुदायका व्यक्तिहरु छुटेको पाइएपछि यही फागुन ५ गते बसेको नगरस्तरीय खोप समन्वय समितिको बैठकले घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको थियो । सोहीअनुसार घरधुरी सर्वेक्षणबाट प्राप्त छुट भएका व्यक्तिलाई सम्बन्धित वडामा खोप लगाइएको थियो ।
नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार वडा नम्बर ३ मा सबैभन्दा बढी १२ हजार ६३० जनाले खोप लगाएका छन् । यस्तै वडा नम्बर ४ मा ११ हजार २७० जनाले खोप लगाएको नगरपालिकाको तथ्यांक छ ।
घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट खोप आपुर्ति गरि खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए । उनका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरीय खोप समन्वय समितिमा पूर्ण खोप घोषण एवं सुनिश्चितताका लागि प्रतिबद्धता पत्र समेत प्राप्त भएको छ ।
नगरपालिकाले तीन सय घरधुरीमा पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट नभएको पाइएकोले नगरपालिका स्तरीय खोप समन्वय समितिको बैठकले जिल्ला स्तरीय खोप समन्वय समिति लगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीलाई पूर्ण खोप घोषणा सुनिश्चितता गर्न सहमतिका लागि पत्राचार गरेको थियो ।
सोही पत्रको आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड–१९ पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी ¥यापिड कन्ट्रयाक सर्वेक्षण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । तिलोत्तमाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु खोप लगाउन विभिन्न बस्ती, समुदाय तथा इँटाभट्टामैं पुगेर खोप लगाउन छुटेकाहरुलाई खोप लगाएका थिए । नगरप्रमुख बासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, शिक्षण संस्थालगायत सबैप्रति आभार व्यक्त गरे ।
तिलोत्तमा नगरपालिकामा हालसम्म कोरोनाबाट ८ हजार ८३८ जना संक्रमित भएका छन् । कोरोनाबाट २०१ जनाको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा २०७७ माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । तिलोत्तमा नगरपालिकाले कोरोना महामारीबाट नगरबासीलाई बचाउन ६० बेडको अस्थायी कोरोना अस्पताल स्थापना गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij