आइतवार , फाल्गुण १५, २०७८
नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसीले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गरेको छ ।
झापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमका सदस्य अन्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको हो। मिडफिल्डर अन्जन र झापाका महासचिव सुजन गौतमले सझौता पत्रमा हस्ताक्षर गरे। झापाले अन्जनलाई मार्की खेलाडी मध्ये अहिलेसम्मकै सर्वाधिक रकममा अनुबन्ध गरिएको जनाएको छ । सम्झौतापछि बोल्दै अन्जनले क्लबको सोचबाट प्रभावित भएर आफुले झापा रोजेको बताए। क्लबका महासचिव गौतमले नेपाली फुटबलका उत्कृष्ट खेलाडी रहेकाले अन्जनलाई अनुबन्ध गरिएको बताए। झापा एनएसएलको नयाँ टोलीको हो। झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ । पहिलो संस्करणमा अन्जनले ललितपुर सिटी एफसीको कप्तानी गरेका थिए । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ। पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो। पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए। पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij