अर्घाखाँचीमा जनप्रतिनिधि र पत्रकारमाथी हतियारधारी अज्ञात समूहले आक्रमण गरिएको छ । अज्ञात समुहले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कपिल आले तथा रातो संचार प्रालीद्वारा संचालित रातोप्रेस डटकमका फोटो पत्रकार मनिष खनाल तथा समाचारदाता अरुण आचार्य माथि आक्रमण भएको हो ।
मगंलबार सोही वडाको विषयमा वृत्तचित्र निर्माण र समाचार संकलन लागि निस्केका उनीहरू माथि आक्रमण भएको जनाईएको छ । ५ जनाको समूहमा आएका हतियारधारी समूहले आफ्नो समूहलाई प्रगतिशील क्लब बताउदै बिना अनुमती हाम्रो क्षेत्रमा प्रवेश गरी फोटो तथा भिडियो संकलन गरेको भन्दै संचारकर्मीद्वय र आफुमाथी आक्रमण गरेको वडा अध्यक्ष कपिल आलेले बताए ।
हतियारधारी समूहले ड्रोन क्यामेरा १ थान, क्यामेरा ३ थान, मोबाईल सेट ५ थान (एन्ड्रोईड), पर्स, वडाका कागजात, वडाका १३ जना नागरिकका सक्कल नागरिकता, चेकबुक, ६ वटा एटिएम कार्ड, २ थान मोटर साईकलको बिलबुक, ड्राईभिङ लाईसेन्स, प्रेस कार्ड, वडा अध्यक्षको परिचय पत्र लगाएत नगद ३० हजार लुटेर लगेको रातो प्रेस संचालक गणेश बेल्बासेले जानकारी दिए ।
अत्यन्तै बिकट क्षेत्रको नागरिकको जनजिवन, भौगोलिक तथा प्राकृतिक क्षेत्र, विकास निर्माण र पर्यटनको सम्भावनाको विषयमा वृत्तचित्र तथा समाचार संकलन भइरहेको समयमा शितगंगा नगरपालिका वडा नं. ११ को चाबनेटा र दोबाटाको बिच जंगलबाट संचारकर्मी र जनप्रतिनिधी माथि हातपात गरेको बताइएको छ । आक्रमणबाट पत्रकार मनिष खनालको नाक र आखाँमा चोट लागेको पिडित पत्रकारले बताएका छन् ।
वडा अध्यक्ष र पत्रकार माथि आक्रमणको घटना थाहा पाए लगत्तै प्रहरीले उक्त समूहको खोजी कार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।