भैरहवा, १२ माघ ।
किसानको माग यथाशिघ्र पूरा गर्न माग गर्दै जनमत पार्टीले बुधबार लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जनमत पार्टीको नेतृत्वमा किसान एक महिनादेखि आन्दोलित भएकाले यथाशिघ्र पूरा गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।
पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्मालाई ११ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको हो ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चतता गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, नसके सिंचाईका लागि विद्युत निःशुल्क गर्नुपर्ने, उत्पादनको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने र उखु किसानको बाँकी वक्यौता रकम भुक्तानी गर्नुपर्ने जनमत पार्टीको माग छ ।
त्यस्तै किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसान कार्ड देखाएर सीमा नाकाको बजारबाट मलखाद, बीउ र कृषि औजारसहितका सामान ल्याउन पाइने सुविधा दिनुपर्ने, किसानको लागि पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुटा मुद्दा खारेज गर्नुपर्ने र गिरफ्तार आन्दोनकारीलाई निःशर्त रिहा गरी मुद्दा खारेज गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख सचिव शर्माले किसानको माग पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
राष्ट्रिय सभाको निर्वाचनमा सहभागि हुन मुख्यमन्त्री कुल प्रसाद के.सी. दाङ रहेकाले जनमत पार्टीले प्रमुख सचिव शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।