
बिहिवार , आश्विन २९, २०७७
भैरहवा, २९ असोज ।
लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानु राजा शाक्य नियुक्त भएका छन् । नेपाल सरकार, मन्त्रीपरिषदले उनलाई चार वर्षको लागि सदस्यसचिवमा नियुक्त गरेको हो । नवनियुक्त सदस्यसचिव शाक्यले बुधबार लुम्बिनीमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सदस्यसचिव शाक्यले लुम्बिनी गुरुयोजना समयमै सक्ने र लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफुले योजनाबद्ध काम गर्ने र त्यसकोलागि सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए ।
शाक्यको स्वागतमा कोषले राखेको स्वागत कार्यक्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र लुम्बिनीको गरिमा अझै प्रभावकारी गराउन सदस्य सचिवको नियुक्तिले विशेष भूमिका खेल्ने बताए ।
सो अवसरमा कामु सदस्य सचिव ज्ञानिन राईले विगत ३ बर्षदेखि कहिले निमित्त त कहिले कामुले लुम्बिनीको सदस्यसचिवको जिम्मेवारी सम्हाल्दा कतिपय कामहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफुहरुलाई उत्साहित बनाएको बताए ।
करिब ३ बर्ष अगाडी तत्कालिन सदस्य सचिव अजितमान तामांगको कार्यकाल सकिएपछि लुम्बिनी विकास कोषमा विष्णु प्रसाद ढकालले केही समय सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए । नेपाल सरकारको सह-सचिव पदबाट निवृत भएका ढकालको विरुद्धमा सदस्यसचिव पदमै प्रतिष्पर्धा गरेकाहरुले मुद्दा हालेपछि उनलाई अदालतले काम गर्न रोक लगाएको थियो । त्यसपछि कोषकै इञ्जिनियर सरोज भट्टराईले निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए भने विगत ९ महिनादेखि कोषका सबैभन्दा सिनियर कर्मचारी ज्ञानिन राइले कायम मुकायम भई सदस्यसचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर २१ निवासी नवनियुक्त शाक्य युवा बौद्ध समूहमा रहेर काम गरेका छन् । उनले बौद्ध अध्ययन र समसामयिक वस्तुस्थितिमा विभिन्न लेखहरु प्रकाशन गर्दै आएका छन् । शाक्यसंग विगतमा लुम्बिनीमै बसेर काम गरेको अनुभव पनि छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij