२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कबाडको आँडमा प्रतिबन्धित जडीबुटीको कारोबार

मंगलवार , माघ ४, २०७८

परासी, ४ माघ । 
कबाडको आँडमा जडीबुटीको कारोबार हुँदै आएको पाइएको छ । जडीबुटीका तस्करहरु कबाडको आँडमा नेपालबाट संकलन गरी भारत ओसार्ने गरेको एक घटना पुष्टियाई भएको छ । सोमबार डिभिजन वन कार्यालय नवलपरासी पश्चिमले सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको हो । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल गाउँपालिका वडा नम्बर स्थित ७ भुजहवाँमा रहेको एक कबाड पसलबाट ठुलो मात्रामा प्रतिबन्धित सुनाखरी र झयाउ जस्तो जडीबुटी बरामद गरेको हो ।

बरामद जडीबुीहरु भुजहवाँस्थित साई टे«डर्स नामक कबाड संकलन गर्ने स्थानमा (कबाड पसल) लुकाईछिपाई राखिएको थियो । विगतका समयदेखि यस कबाड पसलबाट यसरी झार जस्तो देखिने वस्तुहरु साइकल तथा रिक्सामा लोड गरी भारत छिराउने कार्य भइरहेको स्थानियले देखेपछि यो विषयमा चर्चामा आएको थियो । 

उक्त जडीबुटी भारत तस्करी गर्ने उद्देश्यले कबाडी पसलले लुकाईछिपाई राखिएको अवस्थामा सुराकी पाएप्छि डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी बल बिओपी भुजहवाँ र जनपद प्रहरी चौकी भुजहवाँको सहयोगमा बरामद गरिएको डिभिजन बन कार्यालयका निमित्त प्रमुख डिभिजन वन अधिकृत डिलाराम पौडेलले जानकारी दिए । जडीबुटी बरामद हुने कबाड पसल दशगजाबाट १ सय मिटर मात्र दुरीमा छ । बरामद सुनाखरी २१ क्वीन्टल ८० किलोग्राम, झयाउ ५१ क्वीन्टल ३० किलो ग्रामको रहेको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।

यो जडीबुटी पहाडी जंगलहरुमा पाइने गर्दछ । यसलाई संकलन तथा ओसारपसार र विक्रीवितरण गर्न नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । बरामद सुनाखरी प्रतिकिलो २०० का दरले ४ लाख ३६ हजार रुपैयाँ र झयाउ प्रतिकिलो २५ रुपैयाका दरले १ लाख २८ हजार २५० रुपैयाँ गरी कुल ५ लाख ६४ हजार २५० रुपैया यसको बिगो रकम मुल्यांकन गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।

सुनाखरी रुघाखोकी, च्यावनपरास, जस्ता आयुर्वेदिक औषधीमा प्रयोग हुने र झयाउबाट पाउडर बनाई घाउ निको पार्ने आयुर्वेदिक औषधी बनाइने डिभिजन बन कार्याmयले जनाएको छ । यो सुनाखरी तथा झयाउ भारतमा निकै महंगोमा विक्री हुने हुँदा कबाडी व्यापारीहरु कबाडको आँडमा यसलाई भारतमा व्यापक तस्करी गर्दै आएकाले एक स्थानीय श्रोतको सुराकीले यत्रो मात्रामा प्रतिबन्धित जडीबुडी बरामद गर्न सफल भएको कार्यालयले जनाएको छ ।

अझै बरामदस्थल नजिकै एक घरमा बोरा/बोरा भरेर राखिएको ठूलो परिमाणका बस्तु सुनाखरी तथा झ्याउ हुन सक्ने शंकामा स्थानीय प्रशासनले उक्त ठाउँमा निगरानी बढाएको छ । सो पस्तुको निगरानी गर्न सशस्त्र तथा जनपद प्रहरी खटाएको छ । उक्त सामानको जाँच प्रताल भोली गर्ने र सुनाखरी तथा झ्याउ भए त्यस वस्तुहरुलाई बरामद गर्ने प्रशासनले जनाएको छ ।

यसरी कबाडको आँडमा जडीबुटीको कारोबार हुँदै आएको देखिएपछि प्रशासनले कबाड संकलन गर्ने ठाउँहरुमा निगरानी बढाएको छ । यति ठूलो मात्रामा जडीबुटी बरामद भएपछि स्थानीय अच्चममा परेका छन् । बरामद जडिबुटीहरु डिभिजन पन कार्यालयमा सुरक्षित गरिएको र भने थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।