२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउन जेनजी पुस्ताको भीड

आइतवार , कार्तिक २३, २०८२

  • 346
    Shares
  • 346
    Shares
  • भैरहवा, २३ कार्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भीड लागेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड लागेको हो । मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ८० प्रतिशत बढी जेनजी पुस्ताका युवाहरु रहेका छन् । 

    निर्वाचन आयोगले कार्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने सूचना जारी गरेसँगै रुपन्देहीमा मतदाता बन्नेको भिड बढेको हो । पछिल्लो केही दिन यता दैनिक ५ सय देखि ७ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउन आउने गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । 

    जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले उत्साहपूर्वक रुपमा नागरिकको सहभागीता रहेको बताउनुभयो । उहाँले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि जेनजी पुस्ताको संख्या ८० प्रतिशत बढी रहेको जानकारी दिनुभयो । नाम दर्ता गराउनका लागि जेनजी पुस्तासहित विदेशबाट फर्किएका युवाहरुको संख्या पनि उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ । 

    फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि खुलेको मतदाता नामावलीमा कार्तिक २० गते साँझसम्म ४ हजार ७ सय १४ जनाले नाम दर्ता गराएको निर्वाचन अधिकारी अर्यालले जानकारी दिनुभयो । रुपन्देहीमा कार्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका ६ लाख ४४ हजार ३ सय ५६ मतदाता रहेका थिए । त्यसमा ३ लाख ३० हजार ७ सय ४१ पुरुष र ३ लाख १३ हजार ६ सय ७ जना महिला रहेको कार्यालयले जनाएको छ । 

    नाम दर्ता गर्न आउनेको भिड लागेका बेला हुने सर्भर डाउनको समस्याले सेवाग्राहीलाई भने सास्ती दिने गरेको छ । अर्कोतर्फ राष्ट्रिय परिचयपत्रले मतदाता नामावलीमा नाम दर्ता गर्न नमिल्दा कतिपय सेवाग्राही फर्किने गरेका छन् । निर्वाचन आयोगले सक्कल नागरिकताको प्रमाणपत्रले मात्र नाम दर्ता गर्न मिल्ने कानूनी व्यवस्थाका कारण राष्ट्रिय परिचयपत्रले दर्ता गर्न नमिल्ने भएकाले सेवाग्राही फर्कने गरेका हुन् ।