२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

व्यक्तिगत घटना दर्तामा संवेदनशील हुन आग्रह 

बिहिवार , पौष २२, २०७८

बुटवल, २२ पुस ।
सरोकारवालाहरुले व्यक्तिगत घटना दर्तामा संवेदनशील हुन आग्रह गरेका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले बुधबार बुटवलमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा वक्ताहरुले व्यक्तिगत घटना दर्ता नहुँदा राज्यको सेवासुविधा नपाएको दुःखेसो पोखे । तथ्य र प्रमाण नपुग्दा व्यक्तिगत घटना दर्तामा झमेला हुने उनीहरुले बताए । 

कानूनमा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गराउनुपर्ने व्यवस्था छ । तर, झमेला हुने भन्दै धेरै नागरिकले यसको बेवास्ता गरेका छन् । 

राष्ट्रिय अपांग महासंघकी सावित्रा घिमिरेले कतिपयमा वडा कार्यालयले खोजेका प्रमाण पुर्याउन नसक्ने र अस्थायी बसोबासी भएका कारण व्यक्तिगत दर्तामा समस्या भएको बताइन् । आन्तरिक बसाईसराई, बाबुको उपस्थिति लगायतका कुरा देखाएर व्यक्तिगत घटना दर्तालाई जटिल बनाइको उनको भनाइ थियो । कतिपय सेवाग्राहीहरुले अभिभावकको असावधानी र राज्यको गैरजिम्मेवारीपनले कतिपय बालबालिकाको जन्म दर्ता नभएको बताइन् । 

लुम्बिनी प्रदेशका कानुन महिला तथा बालबालिका मन्त्री रमा घर्तीले जन्मदर्ता नहँुदा नागरिकता, राहदानी, नाबालक परिचयपत्र, पठनपाठनदेखि राज्यबाट पाउने सेवा सुविधा उपभोग गर्नबाट वञ्चित हुने भएकाले यसमा संवेदनशील बन्न आग्रह गरिन्  । 

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन वडामार्फत सेवा दिने र अनलाइन प्रविधि अपनाइएको बताए । उनले कतिपय व्यवहारिक कठिनाइलाई स्थानीय तहले व्यवहारिक रुपमै समाधान गर्न पनि आग्रह गरे । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बसाइँसराइ गरेका मानिसले कानूनमा स्थायी थातथलो छोड्न नमान्ने, व्यवहारिक रूपमा अन्यत्रै बस्नेमा समस्या भए पनि सहज बाटो खोज्ने बताए । 

बुटवल उपमहानगरपालिका उप प्रमुख गुमादेवी आचार्यले व्यक्तिगत घटना दर्तामा भएको समस्याले नागरिकता प्राप्तिलाई जटिलता बनाउने भएकाले यसमा सरलीकृत बनाउन आग्रह गरिन् । घटना दर्ताको प्रमाणपत्र वडा सचिवले प्रमाणीकरण गर्छन् ।