आइतवार , कार्तिक २३, २०८२
काठमाडौं, २३ कार्तिक । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।
अन्तरिम सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई देशका प्रमुख दलहरुले असंवैधानिक ठहर गरेका छन् । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ ।
राजनीतिक दलहरुले संसद विघटनलाई असंवैधानिक बताएपनि नेताहरुले भने सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । नेताहरुले निर्वाचनको विकल्प नभएको बताएपनि दुई ठूला दल नेपाली काँग्रेस र एमालेले भने आधिकारिक रुपमा निर्वाचनमा जाने सम्बन्धि निर्णय भने गरेका छैनन् ।
जेन–जी आन्दोलनले सत्ताच्युत भएको नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक हाल जारी छ । नेकपा एमालेले भने संसद पुनःस्थापनामा नै जोड दिएको छ । अन्य साना राजनितिक दलहरुले भने निर्वाचनमा जाने निर्णय गरिसकेका छन् ।
नेपाली काँग्रेसको बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले निर्वाचनमा जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रिय समितिको बैठकमा सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिनेमा सबै केन्द्रिय सदस्यहरुको मत रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।
गत असोजमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा संसद पुनःस्थापनाको निर्णयमा लेखाइएको भएपनि केन्द्रिय समितिमा संसद पुनःस्थापनाको विषयलाई एजेण्डा बनाइएको छैन ।
संविधानलाई सही ट्रयाकमा ल्याउन पनि निर्वाचन अपरिहार्य रहेको उहाँको भनाई छ । उहाँकाअनुसार पार्टीभित्र केही केन्द्रिय सदस्यहरु भने संसद पुनःस्थापनाबाट मात्रै समाधान खोज्नुपर्ने पक्षमा छन् ।
तर चुनावमा सहभागी हुने धारणा बलियो बन्दै गएको उहाँले बताउनु भयो । विशेष गरेर संसदमा रहेका नेताहरुले संसद पुनःस्थापनामा केही जोड दिएको उहाँको भनाई छ । उहाँले असोजमा बसेको बैठकमा संसद पुनःस्थापनाको पक्षमा अडान लिने नेताहरु अहिले केन्द्रिय समितिमा भने मौन रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पार्टीको केन्द्रिय समितिको बैठकमा यही सरकारले घोषणा गरेको भएपनि निर्वाचनमा भाग लिने कुरामा सबै केन्द्रिय सदस्यको तर्फबाट कुरा आएको छ ।
कार्यसम्पादन समितिको असोजमा बसेको बैठकमा संसद पुनःस्थापनाको विषय त्यो निर्णयमा लेखाइएको थियो । तर यो बैठकमा संसद पुनःस्थापनाको विषय एजेण्डामा आएको छैन ।
तर संसद पुनःस्थापनाको विषयमा पछिल्लो दिनमा केही केन्द्रिय सदस्यहरुले बोलिरहनुभएको छ । संसद पुनःस्थापनाबाट मात्रै हामी समाधान जानसक्छौँ । संसद पुनस्थापना गरेर फेरि केही संविधान संसोधन गरेर नागरिक सरकार नै भएछ भनेपनि त्यसरी जानुपर्छ भन्ने खालको केही धाराणा त्यसरी पनि आएको छ ।
तर यो बीचमा केन्द्रिय समितिले निर्वाचन समितिको विषय हामी निर्वाचनमा भाग लिने की नलिने भन्ने विषयमा पनि अनेक टिकाटिप्पणी भइरहँदाखेरी केन्द्रिय समितिको बैठकमा भने संविधान अफ्ठ्योरोमा छ, संविधानको बाटो लिगबाट बाहिर छ, त्यसलाई फेरि लिगमा ल्याउन पनि चुनावमा चाँही जानुपर्छ ।
चुनावबाट निर्वाचित भएर आएको जुन संसद छ, त्यसले नै यो संविधानलाई ट्रयाकमा ल्याउन सक्छ । जित्ने हार्ने आफ्नो ठाउँमा छ तर निर्वाचनमा जानुपर्छ भन्ने मत पार्टीभित्र सघन रुपमा उठेको छ ।’
नेता शिवाकोटीले केन्द्रिय समितिमा निर्वाचनमा जाने आवाज बलियो बन्दै गएपनि पाटीको १५ औँ महाधिवेशनमा भने विवाद रहेको बताउनु भयो ।
महाधिवेशन निर्वाचन अगाडी गर्ने कि पछाडी गर्ने भन्नेमा केन्द्रिय सदस्यहरुमा मदभेद रहेको उहाँको भनाई छ । महाधिवेशनमा मतभेद रहेपनि निर्वाचनको सन्दर्भमा भने एकमत रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठकमा चुनाव अगाडी महाधिवेशन गनुपर्छ भन्ने पनि र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने पनि जसले जे जे भनेपनि दुवैले चुनावमा चाहीँ जानुपर्छ, भाग लिनुपर्छ भन्ने आईरहेको छ ।
संसद पुनःस्थापना नै भयो भने फेरि एउटा कानूनी प्रक्रियामा छ, अदालतको प्रोसेसमा छ, त्यसकारण त्यो एउटा पाटो हुदाँहुँदै यदी त्यो अदालतको निर्णय जे आओस् ।
अदालतको निर्णय संसद विघटनको पक्षमा नै रहेछ भनेपनि चुनावमा जानुपर्छ भन्नेमा एउटा मत त्यहाँभित्र बनिरहेको छ । त्यो मत बन्दै गर्दा पार्टीको महाधिवेशनमा चाहीँ पक्ष र विपक्ष बनिरहेको छ ।’
तीन धारमा विभाजित देउवा समूह
सभापति शेरबहादुर देउवा निकट नेताहरुबीच पनि आगामी महाधिवेशनको समयबारे तीन धार देखिएको नेता शिवाकोटीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार केहीले फागुन २१ मा तोकिएको निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने, केहीले निर्वाचनपछि गर्नुपर्ने र केहीले बीचको बाटो खोज्नुपर्ने मत राख्नुभएको छ ।
संस्थापनइतरको पक्ष भने निर्वाचन अगाडी नै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने संस्थापन इतर पक्षको माग छ ।
विशेष गरी शेखर कोईराला र महामन्त्री गगन थापा पक्षधरका नेताहरुले महाधिवशेन गरेर निर्वाचनमा जानुपर्नेमा एकमत छन् । विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन् ।
त्यसैको आधारमा अहिले पार्टीभित्र नियमित वा विशेष महाधिवेशन पुस २९ भित्रै गर्नुपर्ने दबाब तिब्र बनेको नेता शिवाकोटीले बताउनु भयो । यसमा संस्थापन पक्ष भने तीन धारमा विभाजित भएको हो ।
उहाँले भन्नुभयो, ‘त्यहाँ पार्टी सभापति शेर बहादुर देउवा निकट रहेको टीममा भने तीन धार देखिन्छ । एउटा फागुन २१ मा घोषणा भएको चुनाव अगाडी महाधिवेशन गर्नुपर्छ भन्ने, एउटा चुनाव पछाडी जानुपर्छ भन्ने र अर्को होईन बीचको बाटो निकाल्नुपर्छ भन्ने छ ।’
संस्थापन पक्षका २६ जना केन्द्रिय सदस्य चुनाव अगाडी महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको उहाँले बताउनु भयो । अझै ५२ जनाले बोल्न बाँकी रहेकोले महाधिवेशनको विषय साझा निष्कर्षकै रुपमा बाहिर आउने उहाँको भनाई छ ।
नियमित नभए विशेष महाधिवेशन हुने
महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको दफा १७ (२) अनुसार ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेकाले विशेष महाधिवेशन टार्न नसकिने अवस्था आएको शिवाकोटीले बताउनु भयो । उहाँले मंसिरभित्रमा नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशनको विकल्प नभएको दाबी गर्नुभयो ।
संसद पुनस्थापना होस् वा चुनाव नै होस्, दुवै अवस्थामा पुस २९ भित्र नियमित वा विशेष महाधिवेशन गर्ने उहाँको भनाई । कार्यवाहक सभापति र मुख्यसचिवले हस्ताक्षर दर्ता गरिसकेकोले त्यसलाई बेवास्ता गर्न नमिल्ने उहाँको दाबी छ ।
५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार मंसिरमा नियमित महाधिवेशन गर्न नसकेको पुसमा विशेष महाधिवेशन गर्नुपर्ने शिवाकोटीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनको प्रश्ताव पार्टीको विधानको दफा १७ (२) मा टेकेर आएको छ । ५५ प्रतिशतले जुन हस्ताक्षर बुझाउनुभएको छ । कार्यवाहक सभापतिले बुझ्नुभएको छ, मुख्यसचिवले दर्ता गर्नुभएको छ, त्यो डकुमेन्टलाई ईग्नोर गर्न मिल्दैन ।
त्यसकारण संसद पुनःस्थापना गरेको शर्तमा होस् अथवा संसद पुनःस्थापना नभएर चुनावमा भएकै शर्तमा होस्, दुवै शर्तमा यो पटक पुस २९ भन्दा अगाडी महाधिवेशन गर्नुको विकल्प छ्रैन ।
त्यो नियमित गर्नुस्, नियमित नै सही, पार्टीको तर्फवाट केन्द्रिय समितिले निर्णय गरोस्, आफ्नै प्रस्तावको रुपमा अन गरेर विशेष महाधिवेशन त्यो नै सही । त्यो नभएको अवस्थामा ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको अर्थमा भएपनि त्यसमा नै सही । कुनैपनि मुल्यमा नियमित तथा विशेष महाधिवेशन पुस २९ भित्र गर्नुपर्छ ।’
उहाँले केन्द्रिय समितिले सर्वसम्वत रुपमा महाधिवेशन गर्ने निर्णय गर्ने विश्वास व्यक्त गनुभयो । विद्यानको विपरित कोही पनि जान नसक्ने उहाँको भनाई छ ।
गालीगलौज गर्ने प्रवृत्ति बढ्यो
नेता शिवाकोटीले केन्द्रिय समितिको बैठकमा अमर्यादित हर्कत भएको पनि बताउनु भयो । पार्टीका व्यक्ति विशेष गाली लगौज, टिकाटिप्पणी भएको उहाँको भनाई छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्तक्षेप गनुपर्ने अवस्था समेत बैठकमा सिर्जना भएको उहाँले जानकारी दिनुभयो । उहाँले कार्यसम्पादनको आधारमा आलोचना गर्न पाइने भएपनि व्यक्तिगत रुपमा निन्दा गर्न नमिल्ने बताउनु भयो ।
उहाँले बैठकमा निन्दा र आलोचना छुट्याउन नसकेको पाइएको उल्लेख गर्नुभयो । उहाँले पार्टी सदस्यहरुलाई अनुशासन सिकाउन आश्वयक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘गाली र निन्दा फरक कुरा हो ।
व्यक्तिगत रुपमा टिका टिप्पणी हुने, कार्यसम्पादनसँग लिएर टिकाटिप्पणी हुने, तपाईको त्यसमा आलोचना गर्न पाईन्छ, आलोचना एउटा कुरा हो निन्दा फरक कुरा हो ।आचोलना र निन्दा छुट्याउन नसकेर केन्द्रिय समितिमा साथीहरु प्रश्तुत भइरहनुभएको छ ।’
उहाँले पछिल्लो समय जुनसुकै क्षेत्रमा पनि गालीगलौज गरेर चर्चामा आउने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो । यसले समाजलाई नकरात्मक असर पार्ने उहाँको भनाई छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij