बुधवार , पौष १४, २०७८
काठमाडौँ, १४ पुस। आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ।
पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ। विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ। ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। मौसमी प्रणालीका कारण पर्वतारोहण,हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
टेलिफोन सेवा अवरुद्ध
बझाङ – हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ। सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ ।शनिबारदेखि नै बेला–बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका–१० देउलीकोटका मोहन बोहराले बताए।
घाम नलाग्दा पहाडी जिल्लाका एफएफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भएको छ । रिले स्टेशनमा विद्युत सेवा नहुँदा सौर्य ऊर्जाका भरमा प्रसारण भइरहेका एफएफको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भएको छ। तीन दिनदेखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहँुदा सेवा प्रभावित भएको जयपृथ्वी एफएम बझाङका अध्यक्ष प्रताप ओलीले बताए।
उनले भने, “तीन दिनदेखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुनसकेको छैन। रिले स्टेशनमै भारी हिमपात भएको छ।सौर्य ऊर्जा बाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याइएको छ।” दैनिक १८ घण्टाको प्रसारण हुने गरेकोमा अहिले दिउँसो रेडियो बन्द गरेर बिहान पाँच घण्टा र साँझ पाँच घण्टा मात्र प्रसारण गर्ने गरेको उनको भनाइ छ।रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij