२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

लुम्बिनी प्रादेशिक अस्पताल : पूर्वाधार र सेवा विस्तारमा फड्को

शुक्रवार , आश्विन २३, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • बुटवल, २३ असोज । पश्चिम नेपालको प्रमुख उपचार केन्द्रका रूपमा रहेको रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विगत केही वर्षयता सेवा विस्तार र पूर्वाधार विकासमा उल्लेख्य फड्को मारेको छ । न्यूनतम सेवा मापदण्ड (एमएसएस) को मूल्यांकन तथा बिरामीको चापका सूचकहरूले अस्पतालको गुणस्तर निरन्तर सुधारोन्मुख रहेको देखाउँछन् ।

    अस्पतालमा सेवा विस्तार तथा सेवाग्राहीको चाप बढे पनि स्वीकृत स्थायी दरबन्दीको तुलनामा करार र वैकल्पिक जनशक्तिमा निर्भर रहनुपर्ने बाध्यता रहेको मेडिकल सुपरीटेण्डेण्ट डा. विष्णु गौतम बताउनुहुन्छ ।

    अस्पतालको तथ्यांकअनुसार स्वीकृत बेड संख्या सरकारी स्तरमा ३ सय र विकास समितितर्फ १ सय गरी ४ सय रहे तापनि सञ्चालनमा रहेका बेडहरूको संख्या लगातार बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा ४८४ बेड सञ्चालनमा रहेकोमा २०८०/०८१ मा ५०० र २०८१/०८२ मा ५१५ बेड पुगेको छ । हाल उपलब्ध ५१५ बेडमध्ये सबैभन्दा बढी प्रसूतितर्फ ११४ बेड र क्याबिनतर्फ ४७ बेड रहेका छन् ।

    त्यसै गरी शल्यक्रिया ३९, हाडजोर्नी ३८, इमर्जेन्सी ३३ र मेडिसिनतर्फ ४० बेड सञ्चालनमा छन् । बाल स्वास्थ्यका लागि भर्ना बेड २६, एनआईसीयू १२, पीआईसीयू ६ र एसएनसीयू १५ बेड सञ्चालनमा ल्याइएको छ ।

    सेवाको चाप र प्रयोगशाला परीक्षणमा भारी वृद्धि

    विगत ६ वर्ष (आव २०७७/०७८ देखि २०८२/०८३ सम्म) को तथ्यांक हेर्दा अस्पतालमा बिरामीको चाप र परीक्षणको दायरा तीव्र रूपमा बढेको देखिन्छ । आ.व. २०७७/०७८ मा ५६ प्रतिशत मात्र रहेको बेड ओकुपेन्सी दर बढेर आव ०८२/०८३ सम्म आइपुग्दा ९३ प्रतिशत पुगेको छ । आ.व. २०७७/०७८ मा दैनिक औसत ८१० वटा मात्र ल्याब टेस्ट हुने गरेकोमा आ.व. २०८२/०८३ मा यो संख्या करिब आठ गुणाले बढेर दैनिक ६ हजार ३ सय २१ पुगेको छ । 

    रेडियोग्राफिक तस्विरहरू (एक्स–रे आदि) दैनिक १०६ बाट बढेर ४३२ र युसीजी दैनिक ९६ बाट बढेर २२२ पुगेको छ । ईसीजी सेवा पनि दैनिक २४ बाट बढेर ७९ पुगेको छ । बिरामीको औसत बसाइ ४.८ दिनबाट बढेर ६.८५ दिन पुगेको छ भने शल्यक्रिया गरिएका बिरामीहरूमा संक्रमण दर ०.१४  देखि ०.३७ प्रतिशतसम्म उतारचढाव हुँदै हाल ०.१५ प्रतिशतमा सीमित छ ।

    न्यूनतम सेवा मापदण्डमा निरन्तर सुधार

    अस्पतालको समग्र सेवा र व्यवस्थापनको मूल्यांकन गर्ने न्यूनतम सेवा मापदण्डमा निरन्तर प्रगति देखिएको छ । आ.व. २०७८/०७९ मा अस्पतालको एमएसएस स्कोर ७४ प्रतिशत रहेकोमा आव २०७९/०८० मा ८० प्रतिशत पुगेको थियो । आ.व. ०८०/०८१ मा ८८ प्रतिशत, आ.व.०८१/८२ मा ८९ प्रतिशत र आ.व. ०८२/०८३ सम्म आइपुग्दा ९० प्रतिशत अंक हासिल गर्न सफल भएको छ । यसले अस्पतालको प्रशासनिक तथा उपचारात्मक गुणस्तर सुधार भइरहेको संकेत गर्छ।

    जनशक्ति व्यवस्थापन : स्थायीभन्दा करार र अस्थायीको भर

    अस्पतालको पूर्वाधार र बिरामीको चाप बढे पनि मानव संसाधनको संरचनामा भने ठूलो चुनौती देखिएको मेसु डा. गौतमले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा कुल स्वीकृत दरबन्दी ३७२ जनाको रहेको छ । जसमध्ये केवल २०४ पद मात्र स्थायी रूपमा पदपूर्ति भएका छन् । अस्पतालमा १२४ दरबन्दी करारमा रहेका छन् । तर, अस्पतालको वास्तविक कार्यसञ्चालन आवश्यकता पूर्ति गर्न कुल १ हजार २२ जना जनशक्ति कार्यरत छन् ।

    ११ औं तहका चीफ कन्सल्टेन्ट १५ स्वीकृत दरबन्दीमा ११ स्थायी र ६ काजमा गरी १७ जना कार्यरत छन् । ९ र १० औं तहका सिनियर कन्सल्टेन्ट ३५ स्वीकृत दरबन्दीमा २६ स्थायी छन् भने छात्रवृत्ति, करार र अन्य गरी ५९ जना पुर्याइएको छ । मेडिकल अफिसर (आठौं तह) ४७ स्वीकृत दरबन्दीमा १७ स्थायी मात्र छन् भने कुल ९१ जना कार्यरत छन् ।

    त्यसै गरी नर्सिङ र सहयोगी कर्मचारी नर्सिङ स्टाफ (४ औं–८औं तह) को स्वीकृत दरबन्दी १२१ रहेकोमा ८३ जना मात्र स्थायी छन् । प्रदेश अस्थायी दरबन्दी १११, अन्य करार र छात्रवृत्ति मिलाएर कुल ३३० जना नर्सिङ स्टाफ कार्यरत छन् । त्यस्तै, २५६ जना सहयोगी कर्मचारीमध्ये स्थायी पदपूर्ति जम्मा ४ जना मात्र रहेको मेसु डा. गौतमले बताउनुभयो ।

    लुम्बिनी प्रादेशिक अस्पतालले सीमित सरकारी दरबन्दीका बाबजुद विकास समिति, प्रदेश अस्थायी दरबन्दी, छात्रवृत्ति र अन्य करारमार्फत जनशक्ति व्यवस्थापन गरी दैनिक हजारौं बिरामीलाई सेवा दिइरहेको छ । बेड संख्या ५१५ पुग्नु, बेड ओकुपेन्सी ९३ प्रतिशत पुग्नु र एमएसस स्कोर ९० प्रतिशत हासिल हुनु अस्पतालको सबल पक्ष भएको मेसु डा. गौतमले बताउनुभयो । 

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई दीर्घकालीन र भरपर्दो रूपमा सञ्चालन गर्न सरकारी स्तरबाटै स्थायी दरबन्दी पुनरावलोकन गरी स्थायी जनशक्तिको अनुपात बढाउनु अत्यावश्यक रहेको बताउनुहुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड तथा नेपाल सरकारले निर्धारण गरेको कार्यविधि अनुसार पनि जनशक्ति नहुँदा समेत सेवालाई प्रभावकारी बनाउन बिकास समिति प्रयासरत रहेको उहाँले बताउनुभयो । 

    प्रदेश सरकारको गौरव आयोजना सञ्चालन भैरहेको यस अस्पतालमा आयोजना सम्पन्न भएपछि अहिलेकै अवस्थामा सेवा दिन समस्या हुने बताउँदै त्यसका लागि पनि आवश्यक तयारीमा लाग्नुपर्ने उहाँको भनाइ छ । सरकारी अस्पतालप्रति सेवाग्राहीको सकारात्मक धारणा र विश्वास बढाउँदै गएको यस अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, विकास समिति र सरकारको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उहाँले बताउनुभयो ।