२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

योजना नै नपरेको सडकमा कालोपत्र

आइतवार , पौष ११, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौँ, ११ पुस। गोकर्णेश्वर नगरपालिकाले योजना नै नपरेको सडकमा कालोपत्र बनाउन थालेको छ । सो कालोपत्र गर्ने क्रममा एक व्यक्तिको घरमा नोक्सानी भएको छ ।

    गोकर्णेश्वर–१ रुप्सेटारस्थित लालकृष्ण मिश्रको नाममा रहेको कित्ता नं ६३६ मा बनेको घरअघिको सडकमा ग्राभेल हाली पानी राखेर रोलर लगाउने क्रममा यही पुस ६ गते पानीको भलले घर डुबान भएको छ ।

    मिश्रले कसरी कुन योजनाले काम गर्दा घर डुबानमा परेको भनी पुस ८ गते नगर कार्यपालिकाको कार्यालय जोरपाटी गई बुझ्दा नगरपालिकाका प्राविधिक विश्वराम पण्डितले अर्को सडकको योजनाको बजेटले त्यहाँ ग्राभेल हालेको र कालोपत्रसमेत गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

    बिपीचोक–वाग्मती सडकको नगरपालिकाबाट ठेक्का गरिएको र त्यहीँको बजेटले कारखाना–वाग्मती सडकमा पनि काम भइरहेको प्राविधिक पण्डितले जानकारी गराएको पीडित मिश्रले बताए । सडकको अन्य भागमा काम गर्दा सडकमुनि रोलरले सडक सम्याउँदा भल बगेको छैन । तीन वर्षदेखि एकपक्षीयरुपमा सडक बिस्तार भयो भनी न्यायिक प्रक्रियामा रहेकाले नगरपालिकाले योजनाबद्धरुपमा आफ्नो घरमा भल बनाएको आरोप पीडित मिश्रको छ ।

    सोही वडाको कारखाना भन्ने स्थानबाट वाग्मती नदी जाने मिश्रको घरअघिको सडकमा २०७६ जेठ २१ गते उपभोक्ता समितिले एकपक्षीयरुपमा पीडितको घरतर्फमात्र सडक बिस्तार गरेदेखि यस विषयमा मिश्र परिवारले न्यायिक प्रक्रियामा लागेकामा अझै न्याय पाउन सकेको छैन ।

    सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ कति बिस्तार गरिएको हो भन्ने विषयमा मिश्रले २०७६ जेठदेखि नगरपालिकासँग सूचना माग गर्दा अझै पूरा सूचना पाउन नसकेको जानकारी गराए । राष्ट्रिय सूचना आयोगले नगरपालिकालाई पटकपटक पूरा सूचना दिनू भनी आदेश गर्दा पनि सूचना पाउन नसकेको पीडितको गुनासो छ ।

    सुरुकै चरणमा नगरपालिकाका सूचना अधिकारी र कार्यालय प्रमुखसँग सूचना माग गर्दा पनि नदिएपछि आयोगमा पुनरावेदन गरेपछिमात्र अपुरो सूचना मिश्रले पाउएका हुन्। नगरपालिकाले सुरुदेखि नै सूचना लुकाउन खोजेको र आयोगमा पुनरावेदन गरेपछि मात्र दिन बाध्य भएको उनको भनाइ छ । मिश्रको कित्ता नं ६३६ सँग जोडिएका पाँच कित्तामध्ये कुन कुनबाट सडकका लागि कति कति लिइएको हो भन्ने सूचना भने अझै नगरपालिकाले दिएको छैन । रासस