
बिहिवार , आश्विन २२, २०७७
भैरहवा, २२ असोज ।
विश्व दृष्टि दिवसको अवसरमा बिहीबार भैरहवामा १०२ जनाले मरणोपरान्त आँखादान सम्झौता गरेका छन् । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा १ सय २ जनाले आँखाको नानी दान सम्झौता गरेका हुन ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेको नेतृत्वमा एरिया–४ अन्तर्गत भैरहवा क्षेत्रका लायन्स क्लबमा आबद्ध र उनीहरुको परिवारले मरणोपरान्त आँखादान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले आँखादान सम्झौता गरेको पत्र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका छन् ।
लायन्स इन्टरनेशनलको अभियान अनुुसार अहिले आँखाको उपचार लगायतका विभिन्न कुरामा जोड दिंदै आएको कार्यक्रम संयोजक लायन्स डिष्ट्रिक आइ डोनेशन डिर्पाटमेन्ट चिफ राजेश खरेलले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्य, कोषाध्यक्ष धर्मराज आचार्य, क्लबका पूर्वअध्यक्ष रमेश घिमिरे, कुलचन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै नवलपरासीमा ९७ जनाले परासी आँखा अस्पतालमा र बुटवल एरियामा २ सय ५३ जनाले बुटवल लायन्स आँखा अस्पतालमा र बुटवल पश्चिम एरियाका ६० जना लायन्सहरुले मृत्यु परान्त आँखादानको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको लायन्स एरिया ४ का एरिया चिफ सन्दीप कसौधनले जानकारी दिए ।
डिष्ट्रिक डिपार्टमेन्ट कोअर्डिनेटर विनिता बज्राचार्यका अनुसार लायन्सले अन्धोपना निवारण अभियानलाई सार्थक बनाउनको लागि मृत्युपरान्त आँखादान प्रतिवद्धता पत्रमा हस्ताक्षर अभियान चलाइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij