२०८३, कार्तिक ११ गते

Oct 28 2026 | २०८३, कार्तिक ११ गते

लुम्बिनी विकास कोषको नियुक्तिमा गलत निर्णय भएको छ : महामन्त्री पौडेल

बुधवार , कार्तिक ११, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, ११ कार्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा सरकारले गलत निर्णय गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गर्नुभएको छ । उहाँले विवादास्पद नियुक्तिबारे प्रश्न उठाउने नागरिकलाई धरपकड गरेर सरकारले गलत रबैया देखाएको टिप्पणी गर्नुभएको छ ।

    महामन्त्री पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको नेतृत्वमा भएको नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई मध्यरातमा धरपकड गरिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको यस्तो व्यवहारको आलोचना गर्दै गलत निर्णय सच्याउने साहस देखाउन र प्रश्न उठाउने नागरिकलाई नतर्साउन आग्रह गर्नुभएको छ ।

    ‘लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा हो । यस्तो महत्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्र पर्याप्त हुँदैन । योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहिता पनि हेर्नैपर्छ,’ उहाँले भन्नुभएको छ ।

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको उल्लेख गर्दै पौडेलले ती प्रश्नको जवाफ नदिएसम्म सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटका आधार स्पष्ट पार्न नसक्ने बताउनुभएको छ ।

    सरकारलाई विरोध नभइ सुझाव दिएको उल्लेख गर्दै उहाँले निर्णय सच्याउनुको सट्टा प्रश्न उठाउने नागरिकमाथि धरपकड गर्नु उचित नभएको धारणा राख्नुभएको छ । ‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ । राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ,’ उहाँले भन्नुभएको छ ।

    उहाँले नागरिकलाई मध्यरातमै धरपकड गर्ने, अनि हुर्मत लिएर लुसुक्कै छाड्ने सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने पनि बताउनुभएको छ ।