
शनिवार , मंसिर ४, २०७८
भैरहवा, ४ मंसिर ।
साईकल सिटी भैरहवा सिद्धार्थनगर, रुपन्देहीको व्यानर अनावरण तथा सम्मान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । शनिबार लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले व्यानरको अनावरण गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्त्री खाँले सिद्धार्थनगर नगरपालिकाले जग्गा व्यवस्थापन गरेको अवस्थामा प्रदेश सरकारले साईकल संग्रहालय बनाउने बताए । उनले साईकल सिटीमा सबैलाई जोड्न प्रदेश सरकारबाट २ सय थान साइकल उपलब्ध गराउन प्रयत्न गर्न बताए । मन्त्री खाँले साईकल पथको परिकल्पना गरी सडक बनाउँदा साईकल यात्रीलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउने साइकलमैत्री शहर बनाउनुपर्ने बताए । उनले पाठ्यक्रममा पनि साईकलको महत्व समावेश गर्नुपर्ने बताए ।
साईकल सिटी भैरहवाका संस्थापक अध्यक्ष सुर्य कुमार सारु मगरले २०७८ असोज १ गते संस्था दर्ता गरिएको जानकारी दिए । उनले साईकल पर्यटनलाई जोड दिने, साईकलमैत्री शहर बनाउने, साइकल लेन बनाउन पहल गर्ने लगायत उद्देश्यले साईकल सिटी भैरहवा गठन गरिएको बताए । उनले साईकल सिटी भैरहवा सामाजिक कार्यमा समेत अग्रसर भएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले नगरको समग्र विकासको लागि प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । उनले संस्थासंग हातेमालो गर्न आफू तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले वातावरण संरक्षणका लागि साईकल महत्वपूर्ण रहेको बताए । उनले साईकलसम्बन्धि उद्योग नेपालमै स्थापना गर्न सके विदेशिने पैसा स्वदेशमै रोक्न सकिने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले साईकलले स्वास्थ्य मात्र नभई पर्यावरण संरक्षण गर्न पनि मद्दत पुग्ने बताए । उनले साईकल सिटी भैरहवामा महिला सदस्यहरुको संख्या बढाउनुपर्ने बताए ।
साईकल सिटी बुटवलका अध्यक्ष विनोदजंग कार्कीले विश्वमा प्रदुषण बढिरहेकाले साईकलको प्रयोगले केही भए पनि प्रदुषण न्यूनीकरण गर्न सकिने बताए ।
कार्यक्रममा साईक्लिष्ट नुरमदन थापा, कृष्ण पाण्डे, रिवाज खरेल र अश्विनी खरेललाई सम्मान गरिएको साईकल सिटी भैरहवाका संस्थापक अध्यक्ष सुर्यकुमार सारु मगरले बताए ।
त्यस्तै कार्यक्रममा साईकल सिटी भैरहवाका संस्थापक सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको व्यानर अनावरण तथा सम्मान कार्यक्रमका संयोजक मंगल भण्डारीले बताए ।
कार्यक्रम संयोजक मंगल भण्डारीको स्वागत, साईकल सिटी भैरहवाका सहसचिव राजेश खरेलको धन्यवाद ज्ञापन तथा सचिव थिरेन्द्र कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij