२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रोटरी मणिग्रामद्वारा न्यानो कपडा वितरण

शनिवार , मंसिर ४, २०७८

भैरहवा, ४ मंसिर ।
रोटरी क्लब अफ मणिग्रामको आयोजना तथा रोटरी वीमन रिजन ५, रोट्रयाक्ट क्लब अफ मणिग्राम र नवज्योति बोर्डिङ्ग स्कुलको सहयोगमा रुपन्देहीको मणिग्रामस्थित गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । 
जाडो याम सुरु भएलगत्तै अतिविपन्न विद्यार्थीहरुलाई कपडा सहयोग गर्ने उद्देश्यले स्वेटर तथा टिसर्ट वितरण गरिएको हो । 

विद्यालयमा आयोजित एक समारोहमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजु, क्लबका सल्लाहकार लक्ष्मण ज्ञवाली लगायतले कक्षा १  देखि ५ सम्मका ८० जना बिद्यार्थीलाई कपडा हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्वजुले सामाजिक सेवा भावका साथ सक्रिय रहेको रोटरी क्लबले शिक्षा, स्वास्थ्य र सरसफाईका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको जनाए । उनले रोटरी क्लबलाई समाजले धनीहरुको संस्थाको रुपमा हेर्ने गरेकोमा धनको भन्दा मनको धनीहरुको संस्था भएको भन्दै विद्यालयको आवश्यकता अनुसार शौचालय, फर्निचर वा पुस्तकालय जस्ता क्षेत्रमा सहयोग गर्न सकिने बताए । 

क्लबका सल्लाहकार ज्ञवालीले विद्यालय तहबाटै नेतृत्व विकास तथा सामाजिक क्षेत्रमा लाग्नका लागि बिद्यार्थीहरु इन्ट्रयाक्ट क्बलहरुमा आवद्ध हुन सके राम्रो हुने बताए । उनले रोटरीमा आवद्ध हुनेहरुको मूल मन्त्र स्वार्थ भन्दा माथि सेवा भाव रहेको उल्लेख गरे । 

रोटरी वीमन रिजन ५ की अध्यक्ष राजुदेवी खनालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष केशवप्रसाद न्यौपाने, विद्यालयका प्राचार्य केदारचन्द्र पराजुली, क्लबका सचिव सागर पाठक, सदस्य लक्ष्मी थापा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।