
सोमवार , कार्तिक २९, २०७८
बुटवल, २९ कात्तिक ।
हरेक क्षेत्रको विकासका लागि समानता मात्र नभई समताको पनि आवश्यक पर्ने सरोकारवालाले बताएका छन । अपांगता भएका व्यक्तिहरुको राजनैतिक अधिकार तथा पहुँचयुक्त निर्वाचन प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् ।
कार्यक्रममा रुपन्देही जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले अपांगता भएका व्यक्तिले निर्वाचनसम्बन्धी अधिकार पाउनुपर्छ भनेर कानूनी प्रावधान भएर मात्र नहुने बताए । यदि अपांगता भएका व्यक्तिहरुलाई निर्वाचनमा उठाउने नै हो भने उनीहरुलाई के के आवश्यक पर्छ भन्ने कुरालाई ध्यान दिंदै त्यसको व्यवस्था मिलाउनुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण गदै भण्डारीले संवैधानिक व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सूचना सेवा निर्देशिका र अपांगता भएका व्यक्तिहरुप्रति निर्वाचन आयोगको भूमिकाका विषयमा समयसापेक्ष उदाहरण सहित प्रष्ट पारेका थिए ।
कार्यक्रमका सहभागिहरुले मतदाता परिचयपत्रमा अपांगता भएका व्यक्ति उल्लेख गर्नुपर्ने, निर्वाचनको समयमा अपांगता भएका व्यक्तिहरुका लागि सहज बनाउन यातायातको व्यवस्था हुनुपर्ने, बहिरा तथा जटिल प्रकृतिका अपांगता भएका व्यक्तिहरुको निम्ति दोभासे तथा सहयोगीको व्यवस्था हुनुपर्ने, मतपत्रमा ठुलो आकारमा र दृष्टीबिहीन मैत्री छापिनुपर्ने, निर्वाचनको अवधिमा कर्मचारी खटाउँदा अपांगता भएका व्यक्तिहरुलाई पनि समेट्नुपर्ने, निर्वाचनमा पर्यवेक्षक खटाउँदा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, भोटिङ कार्यलाई विद्युतीय मतदानको व्यवस्था गर्न र अपांगतामैत्री मतदान स्थल निर्माण गर्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा बोल्दै नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेलले अपांगता भएका व्यक्तिहरुले पनि निर्वाचनमा पाउनुपर्ने अधिकारको लागि निर्वाचन आयोगबाट सहयोग जुटाइदिन पहल भइरहेको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई निर्वाचनको समयमा सहयोगको लागि सहयोग कक्ष नै स्थापना गरेर सहयोग गर्न माग गरेका थिए ।
नेत्रहीन युवा संघ रुपन्देहीको आयोजना, युएसएआइडी, आइएफएसका सहयोग र नेत्रहीन युवा संघ नेपालको समन्वयमा भैरहवामा सम्पन्न कार्यक्रममा रुपन्देहीका विभिन्न अपांगता भएका व्यक्ति र रुपन्देही निर्वाचन कार्यालयका गरी १९ जना व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सस्थाका फिल्ड स्टाफ अस्मिता क्षेत्री, परियोजना प्रशिक्षक टिकाराम घिमिरे लगायतले पनि बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij