
आइतवार , कार्तिक २८, २०७८
भैरहवा, २८ कात्तिक ।
बुद्ध जन्मस्थल लुम्बिनीमा १ सय शैयाको अस्पताल निर्माण हुने भएको छ । रुपन्देहीको सांस्कृतिक नगरपालिका वडा नम्बर १० मा आधुनिक अस्पताल निर्माण हुने नगरप्रमुख मनमोहन चौधरीले बताए । खास गरी लुम्बिनी र यस आसपासका क्षेत्रका महिलामा देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यालाई मध्यनजर गर्दै अस्पताल निर्माणको तयारी भएको चौधरीले जानकारी दिए ।
लुम्बिनीमा आयोजना गरिएको एक कार्यक्रमकाबीच लुम्बिनी गार्डेन फाउण्डेशन, स्पेन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच अस्पताल निर्माणको सम्झौता भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउण्डेशनले उक्त अस्पताल निर्माण गरिदिने जनाएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले अस्पताल निर्माणका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्नुपर्ने बताए ।
सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लु.स.न.पा वडा नम्बर १० मा कम्तीमा एक महिनाभित्र जग्गाको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अस्पताल निर्माणको लागि सम्झौता पत्रमा हस्ताक्षर हुनु ऐतिहासिक कार्य भएको बताए । नगरप्रमुख चौधरीले सबैको सहयोगले अगाडी बढ्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले लुम्बिनी धेरै पछाडी परेको गुनासो भइरहेको बेला यो कामले अब पछाडी पर्दैन भन्ने आशा जगाएको बताए । उनले लुम्बिनीको विकासका लागि लागिपरेको बताए ।
कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेशन र नवलपरासीको सुनवल नगरपालिका र सुस्ता गाउँपालिका विभिन्न बिषयमा सहयोग गर्ने गरी सम्झौता भएको छ । वातावरण, सरसफाई, संस्कृति, कृषि लगायतका क्षेत्रहरुमा सहकार्य हुने गरी सम्झौता भएको हो । सम्झौतामा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे र सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्री तथा लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुअल भिलानोभालेले हस्ताक्षर गरेका थिए । त्यस्तै कार्यक्रममा लुम्बिनी स्मारिका समेत विमोचन गरिएको थियो । त्यसै गरी फाउण्डेशनले आफ्ना ७१ जना आजीवन सदस्यहरुलाई सदस्यता समेत बितरण गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij