
आइतवार , आश्विन १८, २०७७
भैरहवा, १८ असोज ।
एकपक्षीय रुपमा प्रदेशको राजधानी रुपन्देहीबाट भालुवाङ लैजाने प्रस्तावको बिरुद्धमा भैरहवामा रहेका व्यवसायिक तथा सामाजिक संघ सस्था एक ठाउँमा उभिएका छन् । भैरहवामा क्रियाशिल संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन लगायत विभिन्न संघ–संस्थाहरुले राजधानी रुपन्देहीबाट सार्न नहुने अडान राख्दै सरकारले प्रस्तुत गरेको प्रस्तावप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
भौगोलिक सुगमताको हिसाबले प्रदेश नम्बर ५ का सबै जिल्लाहरुलाई सहज हुने रुपन्देही नै प्रादेशिक राजधानीका रुपमा उपयुक्त हुने उनीहरुको भनाइ छ । अन्य प्रदेशका राजधानी तत्कालिन सरकारले तोकेकै स्थानमा कायम रहेका कारण पनि नयाँ प्रस्ताव यस क्षेत्रका कसैको हितमा नभएको यथार्थतालाई बुझेर सो प्रस्ताव तत्काल फिर्ता लिन उनीहरुले प्रदेश सरकार समक्ष आग्रह गरेका छन् ।
आइतबार सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, उद्योग व्यापार संगठन रुपन्देही, भैरहवा मर्निङ वाक ग्रुप, भन्सार एजेन्ट संघ रुपन्देही, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देही, सिद्धार्थ साहित्य परिषद रुपन्देही, सिद्धार्थ यातायात प्रा.लि., जेसिआई सिद्धार्थ नेपाल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही, बैंकर्स एशोसियशन भैरहवा, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, रुपन्देही, स्वतन्त्र लेखक विजय सागर, सोट्टो नेपाल लुम्बिनी, भैरहवा लायन्स क्लब, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका प्रतिनिधिहरुको छलफल पछि संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै भालुवाङ भौगोलिक दृष्टिकोणले पनि उपयुक्त नभएको बताउँदै रुपन्देहीबाट राजधानी सार्ने कोशिष गरिए चुप लागेर नबस्ने बताएका छन् ।
जनताले नचाँहदा नचाँहदै पनि जनताहरुकोे आन्दोलनको दबावबाट प्राप्त हुने परिणामले प्रदेश सरकार र जनप्रतिनिधिको साख र औचित्यमाथि समेत प्रश्न चिह्न उठन सक्ने हुँदा बुद्धिमतापूर्वक तत्कालै प्रस्ताव फिर्ता लिई रुपन्देही जिल्लालाई नै प्रदेशको राजधानी बनाउने गरी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबैमा आग्रह गर्दछौं, विज्ञप्तीमा उल्लेख छ ।
संघीय सरकारको गत आर्थिक वर्षको बजेटमार्फत पनि रुपन्देहीलाई नै प्रदेश नम्बर ५ को राजधानीको रुपमा विकास गर्ने गरी विभिन्न पूर्वाधार र संरचनाहरु निर्माणको लागि बजेट समेत विनियोजन गरिएको यथार्थ तथा प्रदेश नम्बर ५ का सबै पहाडी तथा तराईका जिल्लाहरुको सहज आवागमन एवं बहुसंख्यक जनतालाई पायक पर्ने सुगम क्षेत्र, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, वेलहिया–बुटवल व्यापारिक मार्गको विस्तार सिद्धार्थ राजमार्ग एवं पूर्वं–पश्चिम राजमार्गको संगम रहेको जिल्ला रुपन्देही हो, विज्ञप्तीमा उल्लेख छ ।
‘अन्य प्रदेशसंगको आवागमन समेत कम समयमा गर्न सकिने स्थिति तथा नेपालको प्रमुख भन्सार नाका, बढ्दो औद्योगिकरणका कारण नेपालको प्रमुख आर्थिक केन्द्रको रुपमा विकसित भईरहेको र आवश्यक प्रशासनीक तथा पूर्वाधारहरु समेत भएको एवं सबै राजनीतिक दल, सबै स्थानीय सरकारहरु, संघ–संस्था एव आमनागरिकरुको भावना एवं प्रदेश राजधानी निर्माणको प्रमुख आधार आर्थिक सामथ्र्य तथा आर्थिक विकासको मापदण्डविपरीत प्रदेश ५ को राजधानी भालुवाङमा बनाउने निर्णय गर्दा एकातिर रुपन्देहीमा बनि सकेका पूर्वाधारहरुमा गरिएको लगानी खेर जाने र अर्को तर्फ उक्त क्षेत्र अधिकांश जंगल क्षेत्र भएकोेले पूर्णरुपमा सबै संरचना, पूर्वाधारहरु र सुरक्षा व्यवस्था मिलाउन अरबौं रुपैयाँ खर्चिनु वर्तमान नेपालको हितमा छैन, विज्ञप्तीमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij