
बुधवार , कार्तिक २४, २०७८
भैरहवा, २४ कात्तिक ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस सिद्धार्थनगर नगर समिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको गृहमन्त्री बालकृष्ण खांणको स्वागत, सम्मान, बधाई तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खांण, पार्टीका रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, संविधानसभा सदस्य इस्तियाक अहमद खान, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।
गुप्ताको नेतृत्वमा कांग्रेसमा प्रवेश गरेका २ सय जना बढी युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् । देश र जनताको पक्षमा कांग्रेसले काम गर्दै आएकोले आफू सो पार्टीमा प्रवेश गरेको बताए । उनले भने, ‘कांग्रेसमा क्रियाशिल रही मुलुक र जनताको पक्षमा काम गर्दै समाजलाई अगाडी बढाउने कार्यमा लाग्छु ।’
२७ वर्षिय गुप्ता गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा वडा सदस्यको उम्मेदवार भएका थिए । उनले रुपन्देही युवा समूहमार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij