२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको आग्रह

बुधवार , कार्तिक २४, २०७८

भैरहवा, २४ कात्तिक । 
बिहीबारदेखि सुरु हुने दोस्रो चरणको जनगणना सफल बनाउन रुपन्देहीको रोहिणी गाउँपालिकाले अनुरोध गरेको छ । ‘कोही पनि नछुटांै, कोही पनि नदोहोरिउँ’ भन्ने नारासहित बिहीबारदेखि घरघरमा आउने गणकलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै कार्तिक २५ गतेदेखि मंसिरको ९ गतेसम्म चल्ने जनगणनामा मूख्य प्रश्नावली लिएर आउने गणकलाई आफ्नो यथार्थ विवरण दिन आग्रह गरेको छ । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले प्रत्येक १० वर्षमा हुने जनगणनाले गाउँपालिकाको यथार्थ विवरण आउने हुँदा यसमा सबैले सक्रिय रुपमा सहभागिता जनाउन आग्रह गरे ।

यादवले गाउँपालिकामा हुने मानिस बसोबास, तिनीहरूमध्ये महिला, पुरुष, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–वृद्धाको संख्या, तिनीहरूको बासस्थान र सुविधा, पेशा व्यवसाय, रोजगारीको अवस्था, जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू, शिक्षा र साक्षरताको अवस्था, बसाइँसराईको अवस्था, जन्म तथा मृत्युको अवस्था, शारीरिक वा मानसिक रूपमा अपांगता भएका व्यक्ति, विदेश गएका व्यक्तिको संख्या जस्ता थुप्रै जनसांख्यिक, सामाजिक तथा आर्थिक गतिविधिसम्बन्धी विवरणहरू जनगणनाबाट प्राप्त हुने भएकोले यसमा सहयोग गर्न नागरिकलाई अपिल गरेका हुन् ।

रोहिणी गाउँपालिकामा हुने जनगणनालाई समन्वय गर्न गाउँपालिकामा स्थानीय जनगणना समन्वय समिति समेत गठन भइसकेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको संयोजकत्वमा ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख हरिनारायण श्रेष्ठ, गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरे, वडा सचिवहरुको तर्फबाट राजकुमार मिश्र र स्थानीय जनगणना अधिकारी शेखरनाथ पन्थी सदस्य सचिव रहने गरी ५ सदस्यीय समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले गाउँपालिकामा ३९ जना गणक र ९ जना सुपरीवेक्षक खटिएको जानकारी दिए । पहिलो चरणमा घरधुरी सर्वेक्षण कार्य सम्पन्न भएको र अब दोस्रो चरणमा गणकहरु मूख्य प्रश्नावली लिएर घर घर पुग्ने उनले जनाए ।

रकारले यस पटकको जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको छ । यसपटक गर्न लागिएको १२ औं जनगणना हो । नेपालमा वि.सं. १९६८ बाट जनगणना सुरु भएको थियो ।