
आइतवार , आश्विन १८, २०७७
नवलपरासी १८ असोज । पश्चिम नवलपरासी सुनवल ११ का ४० वर्षीय क्यान्सर रोग पीडित बिष्णु प्रसाद भण्डारीलाई उपचारका लागि लायन्स क्लब अफ सिद्धार्थनगरले आर्थिक सहयोग प्रदान गरेको गरेको छ ।
आर्थिक अवस्था निकै कमजोर भएर उपचार गर्न नसकेका भण्डारीबारे खबरपात्रोले गत भदौ २२ गते आर्थिक अभावमा जीवनमरणको दोसाँधमा छट्पटिएका क्यान्सरपीडित विष्णुू शिर्षकको समाचार लेखेको थियो । सोहि समाचार प्रकाशन भएसङ्गै उनको थप उपचारको लागि सहयोग रकम जुट्न थालेको हो ।
शनिवार लायन्स क्लब अफ सिधार्थनगरका अध्यक्ष बिष्णु गौतमले भण्डारीको घरमै पुगि पीडित परिवार समक्ष संस्थाको तर्फबाट २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । आर्थिक सहयोग हस्तान्तरण गर्दै गौतमले उपचाररत अस्पतालमा समेत उपचार छुट गर्नको लागि आफुले पहल गरिदिने बताएका छन् ।
झन्डै एक वर्ष अघिबाट जिब्रोको क्यान्सर भएका भण्डारीलाई चितवन भरतपुर स्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गएको चैत्र महिनासम्म रेडियो थेरापि माध्यमबाट उपचार भैरहेको थियो । तर आर्थिक अभावमा थप उपचारका लागि अस्पताल जान नसकेका भण्डारी चैत्रयता घरमै रोगसँग छट्पटीएका थिए । भण्डारीको अवस्थाको बारेमा खबरपात्रोका नवलपरासी सम्वाददाता जीवन न्यौपानेको समाचार प्रकाशन भएसङ्गै कोरिया र दुबईबाट समेत आर्थिक सहयोग प्राप्त भैसकेको छ । आर्थिक सहयोग प्राप्त भएसङ्गै बिरामीलाई थप उपचारको लागि असोज पहिलोसाता अस्पताल लगेर विभिन्न परिक्षण तथा औषधि उपचारसमेत गरी घरमा ल्याइएको छ ।
उपचारमा लिइएका परिक्षणको रिपोर्ट भने आउन बांकी नै छ । रिपोर्ट पश्चात बिरामीको स्वास्थ्य अवस्थाबारे थप खुल्नेछ । असोजको पहिलो साता उपचारका लागि अस्पताल पुगेका भण्डारीको एमआरआई गरिएको छ । उनलाई नियमित रेडियो थेरापि माध्यमबाट उपचार गर्नुपर्ने उपचारमा संम्लग्न चिकित्सकले बताएको भण्डारीकि श्रीमती दीपा भण्डारीले उल्लेख गरिन । भण्डारीको श्रीमती र १३ वर्षीय एक छोरा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij