
आइतवार , कार्तिक २१, २०७८
भैरहवा, २१ कात्तिक ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा कडा सुरक्षाकाबीच लक्ष्मी मूर्ति बिसर्जन गरिएको छ । कोटहीमाई गाउँपालिका–५ दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानमा शनिबार र आइतबार गरी ५५ वटा बढी मूर्ति बिसर्जन गरिएको हो । लक्ष्मीपूजाका लागि मर्चवारका विभिन्न स्थानमा राखिएका देवीदेवताका मूर्ति बिसर्जन गरिएको हो ।
कोटहीमाई गाउँपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय मझगावाँको सहयोगमा बास र डोरी लगाई पानी धेरै भएको स्थानमा जान नदिने गरी व्यवस्था मिलाइएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्दभुषण यादवले जानकारी दिए । यसपटक नदीमा मूर्ति बिसर्जन गर्न आउने श्रद्धालुहरुलाई पानीमा पसेर मूर्ति बिसर्जन गर्न पौडी खेल्ने, लगायतका गतिविधिमा प्रतिबन्ध लगाइएको अध्यक्ष यादवले जानकारी दिए । बिहान १० बजेदेखि मूर्ति विसर्जनस्थलमा बसेर प्रत्यक्ष निगरानी गरेको उनले बताए ।
केही वर्षदेखि दुईमाहोनमा मुर्ति विसर्जन गर्न, जल भर्न लगायत विभिन्न कार्यको लागि आउने श्रद्धालुको पानीमा डुबेर मृत्यू हुन थालेपछि यस पटक सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ । मूर्ति बिसर्जन स्थलमा ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा १८ जनाको टोली खटाइएको थियो । मूर्ति बिसर्जन गर्न आएका श्रद्धालु तथा स्थानीयले नदी बाहिरैबाट मूर्ति पानीमा राखेर बिसर्जन गरेको खत्रीको भनाइ छ । त्यसै गरी सशस्त्र प्रहरी बल मझगाँवाका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा १० जनाको टोली खटाइएको थियो ।
मूर्ति बिसर्जन गर्ने स्थलमा यस वर्ष असोज ३० गते कोटहीमाई–४ कदमहवाका १९ वर्षीय अनिल चौधरीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । दुर्गा मूर्ति बिसर्जनका क्रममा मृत्यु भएका चौधरीको खोजतलास पश्चात ६ घण्टापछि शव फेला परेको थियो ।
गत वर्ष मुर्ति बिसर्जन गर्न गएका सम्मरीमाई गाउँपालिका– ६ महदेइयाका १६ वर्षिय मुकेश चौधरीको पनि पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । २०७६ सालमा कोटहीमाइ–१ पुर्निहवाबाट मूर्ति स्थापनाका लागि जल लिन गएको टोलीसँगै रहेका एक भारतीय युवक सोही ठाउँमा डुबेका थिए ।
२०७५ सालमा पनि मूर्ति स्थापनाका लागि जल भर्ने क्रममा कोटहीमाई–५ का एक बालिकाको खोलामा डुबेर मृत्यु भएको थियो । सोही नदीमा डुबेका कतिपयको उद्दार भइ उनीहरुको ज्यान समेत बच्न सफल भएको स्थानीय बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij