
बुधवार , कार्तिक १७, २०७८
भैरहवा, १७ कात्तिक ।
लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको आयोजनामा मंगलबार बेलहियामा एकदिने निःशुल्क डाइबेटिक रेटिनोप्याथी आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा बेलहियास्थित कोटहीमाई मन्दिरमा शिविर सम्पन्न भएको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका अध्यक्ष सागर प्रताप राणाले मधुमेहका बिरामीले सकेसम्म ३ महिना नभए कम्तीमा ६ महिनामा आँखा परीक्षण गराउनुपर्ने बताए । उनले आँखा अस्पतालमा लायन्सको ठूलो लगानी रहेको बताए ।
श्री रण अम्बिका शाह आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारीले मधुमेह पनि महामारी जस्तै फैलिएको बताए । बेलहिया गाउँ समाजका उपाध्यक्ष देवराज न्यौपानेले आँखा शरीरको महत्वपूर्ण अंग भएको र मधुमेहले आँखामा असर पुर्याउने भएकाले सचेत हुनुपर्ने बताए ।
समाजसेवी विजय शर्मा, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरका अध्यक्ष राकेश गुरुङ लगायतले बोल्दै लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीले राम्रो काम गरेको बताए ।
क्लबका वर्ष २०२१/२२ का अध्यक्ष मन्जु शर्मा रेग्मीको अध्यक्षता, कार्यक्रम संयोजक मन्दिरा उप्रेतीको स्वागत, मीना ज्ञवालीको ध्वजा अभिवादन तथा सिर्जना पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
शिविरमा ५६ जना बिरामीको आँखा परीक्षण गरिएको र जसमध्ये ११ जनालाई मोतियाविन्दुको अपरेशन र अन्य जाँचका लागि आँखा अस्पताल रिफर गरिएको क्लबका अध्यक्ष मन्जु शर्मा रेग्मीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij