
बुधवार , कार्तिक १०, २०७८
काठमाडौं, १० कात्तिक ।
ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनाभित्र पूरा हुने भएको छ।
दशैंअघि नै सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको थियो। अब जस्तोसुकै अवस्था आए पनि यही कात्तिक मसान्तसम्म भने सबै काम सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ।
सो सम्पदाको अहिले ९८ प्रतिशत काम सम्पन्न भएको छ। यही महिनाको अन्त्यसम्ममा काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ। काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ। 'केही अवरोध नआए ढुक्कसँग यही कात्तिक महिनाभित्र काम सम्पन्न हुन्छ,' उनले भने।
२०७२ वैशाख १२ को भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो। उक्त सम्पदा पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो। निर्माणका लागि कामपाले हालसम्ममा ११ करोड ५० लाख रुपैयाँ दिइसकेको छ।
पुनःनिर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो। काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो। गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij