
शुक्रवार , कार्तिक ५, २०७८
धनुषा, ५ कात्तिक। खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ ।
बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताले गुण्डाशैलीमा कार्यालय प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । लाठी, भाटासहित कार्यालय पुगेका दर्जनौँ कार्यकर्ताले प्रमुखलाई जबर्जस्ती कार्यालयबाट थुतेर बाहिर ल्याई कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा कुटपिट गर्दै घुमाएका थिए ।
सो घटनामा सम्लग्न १७ जना नेता÷कार्यकर्तामाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार उक्त पार्टीका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत सङ्घका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको छ ।
उनले भने, “यस मुद्दामा अभियुक्तहरूलाई क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र रु ४० हजारसम्म जरिवाना हुनसक्छ ।” बाँकी पक्राउ गरिएका ४५ जनालाई बिहीबार अबेर राति हिरासमुक्त गरिएको थियो । यता मुद्दा दर्ताको विरोधमा पार्टीका अध्यक्ष राउतको निर्देशनमा उनका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरेका छन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij