२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

शैक्षिक क्षेत्रमा परेको समस्याबारे सरकार चिन्तित नभएको सरोकारवालाको गुनासो

बिहिवार , आश्विन १५, २०७७

बुटवल, १५ असोज ।
कोभिड–१९ ले शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार चिन्तित नभएको सरोकारवालाहरुले औल्याएका छन् । उनीहरुले सरकार वा राज्य संचालकहरु मुलुकको शिक्षालाई कसरी संचालन गर्ने भन्ने योजना नै दिन नसकेको भन्दै लाखौ विद्यार्थीको भविष्यको वारेमा गम्भिर हुन नसक्नु चिन्ताको विषय भएको ठहर गरेका छन ।

अभिभावक संघ रुपन्देही र  नेपाल अभिभावक महासंघ प्रदेश ५ को संयुक्त आयोजनामा  बिहीवार बुटवलमा भएको सिकाई सहजीकरणका लागि अभिभावक शिक्षा विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले जारी गरेको सिकाई निर्देशिकालाई  स्वयं सरकारले नै पालना गराउन नसकेको र सरकार नै सिकाइ निर्देशिकाको सवालमा अन्यौलमा रहेको टिप्पणी गरेका थिए । 
सरकारले जारी गरेको सिकाई निर्देशिकालाई कहिले सरकारका शिक्षा मन्त्रीले पालना गर्न भन्ने कहिले त्यसलाई ततकाल संचालन नगर्न निर्देशन गर्ने गरेकाले शिक्षा क्षेत्रमा थप अन्यौल बढेको उनीहरुले गुनासो गरेका छन । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले राम्रो विद्यालय र असल विद्यार्थी उत्पादन गर्न अभिभावकको महत्वपूर्ण भूमिका हुने धारणा राखे । सरकारले जारी गरेको सिकाई निर्देशिकालाई व्यवहारमा पालना गरेमा शैक्षिक क्षेत्रमा देखिएको अन्यौललाई केही भए पनि राहत प्रदान गर्न सकिने भन्दै उनले अभिभावक आफनो दायित्ववाट पन्छिन नहुने बताए । विगत ७ महिनादेखि अवरुद्ध सिक्ने सिकाउने शैक्षिक प्रणालीलाई सिकाई निर्देशिकाले लगानीकर्ता र विद्यार्थीलाई समेत राहत पुग्ने समेत उनले बताए । 

कार्यक्रममा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभा भण्डारीले सरकारले जारी गरेको सिकाई निर्देशिकालाई व्यवहारमा पालना गर्न र प्रभावकारी रुपमा कार्यान्वयन गराउने सवालमा सरकारी पक्ष गम्भिर हुन जरुरी रहेको औल्याए । उनले बच्चा जन्माउने अभिभावकहरुले बच्चाको शैक्षिक उन्नयनका लागि पनि आफनो दायित्व हो भन्ने कुरालाई  बिर्सन नहुनेमा जोड दिए । 
कार्यक्रममा  अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले राज्य संचालकहरु मुलुकको शैक्षिक उन्नतिका सवालमा जिम्मेवार नभएको ठिप्पणी बताए । सरकार कोभिडले थला परेको ७ महिना पुग्दा पनि मुलुकको शैक्षिक प्रणालीलाई कसरी संचालन गर्ने भनी ठोस नीति बनाउनु नसक्नु चिन्ताको विषय भएको अध्यक्ष पाठकले बताए ।

अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रमा शिक्षा पत्रकार समुहका केन्द्रिय उपाध्यक्ष कृष्ण मल्ल, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, नेपाल शिक्षक संघका रुपन्देही अध्यक्ष कूल प्रसाद लामिछाने, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका सचिव विष्णुहरि ज्ञवाली, रुपन्देही उद्योग संघका उपाध्यक्ष माधव पौडेल अभिभावक संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नित्यानन्द ज्ञवाली, नेपाल अभिभावक महासंघ प्रदेश ५ संयोजक हेम बहादुर थापाले शिक्षा क्षेत्र तीन तहका सरकारले अस्तव्यस्त बनाएको गुनासो गरेका थिए ।