२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

सुकुम्बासीे समस्याको स्थायी समाधान खोज्न आग्रह

मंगलवार , आश्विन २६, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २६ असोज ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याको स्थायी समाधानका लागि न्यायोचित पहल गर्न सरकारसँग आग्रह गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबीचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा आइतबार चार जनाको मृत्यु भएकोप्रति ध्यानाकर्षण जनाउँदै इन्सेकले उक्त आग्रह गरेको हो । 

    इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा राज्यका जिम्मेवार निकायको लापरबाही देखिने गरेको  हँुदा त्यस्ता समस्याको स्थायी समाधानको न्यायोचित पहल गर्नुपर्ने उल्लेख छ । सुकुम्बासी बस्तीका प्रदर्शनकारीलाई प्रदर्शनका क्रममा संयमता अपनाउन र विरोध कार्यक्रम शान्तिपूर्वक सञ्चालन गर्न आग्रह गर्दै इन्सेकले मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न आग्रह गरिएको छ ।

    साथै, इन्सेकले पीडित नागरिकको अधिकार र न्यायको सुनिश्चितता गर्न सरकारसँग  माग गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबीचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमध्ये एक जनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एकजना कपिलवस्तु जिल्ला बाणगंगा नपा–१० का ४८ वर्षीय रमेश परियार रहेको प्रहरीले जनाएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका–५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी पूर्व स्थायी घर भइ हाल तिलोत्तमा नपा शङ्करनगर बस्ने १८ वर्षीय युजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो घटनामा प्रहरीले गोली चलाउँदा ५० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४१ जनाको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । घाइते भएका १७ प्रहरी र २४ प्रदर्शनकारीमध्ये चार प्रहरीको स्वास्थ्य अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाडौँ ल्याइएको जनाइएको छ । घटनाको विस्तृत अध्ययन गर्न इन्सेकले बनाएको अध्ययन टोलीले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । रासस