
मंगलवार , आश्विन २६, २०७८
भैरहवा, २६ असोज ।
लुम्बिनीका पर्यटन व्यवसायी मेघनाथ आचार्य भैरहवा–लुम्बिनी ओहोरदोहोर गरिरहन्छन् । भैरहवा–लुम्बिनी चारलेन सडकखण्ड अन्तर्गत बेथरीमा तिनाउ नदीको पुल निर्माणसम्पन्न नहुँदा घण्टौसम्म सवारीसाधन जाममा परिरहेको उनी बताउँछन् । पुल निर्माण कार्य अलपत्र पर्दा पर्यटकहरु सहज रुपमा लुम्बिनी पुग्न समस्या भएको उनको भनाइ छ ।
‘पुल निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न माग गर्दै प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायौं, तर मागको सुनुवाई भएन, पप्पु कन्सट्रक्शनले चार वटा पिलर बनाएर विगत ६–७ वर्षदेखि पुल अलपत्र परेको छ, आचार्यले भने । दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्ने लुम्बिनी पुग्ने मुख्य सडकमा सवारीसाधन जाममा पर्दा निकै नै समस्या थपिएको उनले बताए । ‘कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएको बेला लुम्बिनी आउन चाहने पर्यटकलाई पुल नबन्दा समस्या थपिएको छ, ’आचार्यले भने ।
आचार्य जस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–४ सेमरीका चन्द्रशेखर गुप्ताको गुनासो पनि उस्तै छ । ‘प्रत्येक दिन भैरहवा आउनुपर्छ र फर्किनुपर्छ तर निर्माणाधिन पुल अलपत्र हुँदा सडकमा सवारीसाधनको जाम हुने गरेको छ, लामो समयसम्म पुल निर्माणसम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नुपर्छ, ’उनले भने । लुम्बिनी आउने जाने पर्यटक पनि समस्यामा परेको उनले बताए ।
हुलाकी सडक आयोजना अन्तर्गत तिनाउ खोला पुल निर्माण गर्ने ठेक्का पप्पु बामती÷जेभी काठमाडौंले पाएको थियो । २०७१ साल असार २५ गते भएको सम्झौता भएको र (म्याद थप) सहित निर्माण सम्पन्न गर्ने अवधि २०७५ असार २५ गते रहेको थियो । तर निर्माणसम्पन्न अवधि सकिएको ३ वर्ष बढी समय बितिसक्दा पनि पुल निर्माण कार्य अगाडी बढ्न सकेको छैन् । निर्माणाधिन पुल अलपत्र अवस्थामा छन् । लुम्बिनी–भैरहवा सडकखण्ड अन्तर्गत औद्योगिक कोरिडोरमा सिमेन्ट उद्योगसहित दर्जनौ उद्योग सञ्चालनमा छन् ।
उद्योगमा कच्चा पदार्थ तथा उद्योगबाट उत्पादित वस्तु बोकेर दैनिक सयौं सवारीसाधन पुरानो पुल हुँदै आफ्नो गन्तव्यमा जान्छन् । तर पुल निर्माण कार्यसम्पन्न गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान नसक्दा पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी, सडकमा हिड्ने यात्रु, चालक तथा नागरिकले निकै नै सास्ती खेप्नुपरेको छ । एकैपटक एक साइडबाट गाडी आउँदा अर्को साइडमा रहेका सवारीसाधनले लामबद्ध भएर रोक्नुपर्ने अवस्था छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कोषाध्यक्ष गोविन्द ज्ञवालीले लामो समयदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न नहुँदा पर्यटकलाई समेत आवागमनमा समस्या उत्पन्न भएको बताए । उनले पुल निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्नको लागि तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताए ।
लुम्बिनीका युवा चन्द्रकेश गुप्ता (सि.के.) गुप्ताले पुल निर्माण सम्पन्न नहुँदा विशेष गरी कार्यालय समयमै कार्यालय पुग्न चाहने कर्मचारी, शिक्षक तथा विद्यार्थीहरु पुग्न समस्या रहेको बताए । उनले नयाँ पुल निर्माण कार्यसम्पन्न हुन नसक्दा पुरानो पुल अझै जीर्ण बन्दै गएको बताए । यथाशिघ्र पुल निर्माण कार्यसम्पन्न हुनुपर्ने उनको भनाइ छ ।
सिद्धार्थ सिमेन्ट उद्योगका महाप्रबन्धक अरुण कुमार अग्रवालले पुल निर्माणसम्पन्न नहुँदा निकै नै समस्या भएको बताए । ‘नयाँ पुल निर्माण कार्यसम्पन्न नहुँदा पुरानो पुल जीर्ण बन्दै गएको छ, अझ उद्योगबाट उत्पादित विभिन्न सामान बोकेका सवारीसाधन सडकमा जाममा पर्दा समयमै ती सवारीसाधन गन्तव्यसम्म पुग्न सक्दैनन्, ’अग्रवालले भने । पुल निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सतारुढ नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले पुल निर्माणको लागि पप्पु बामती÷जेभीसंग भएको ठेक्का सम्झौता रद्द भइ नयाँ ठेक्का प्रक्रियामा गएको बताए । उनले विभिन्न प्रक्रियाको कुराका कारण केही ढिलाई भएको बताए । ‘तिनाउ र दानव नदीको पुल महत्वपूर्ण छन्, प्राथमिकतामा पर्नुपर्ने हो, तर संघीय सरकारले कहीकतै चासो नदेखाएको भन्ने अनुभुति गरेका छौं, ’उनले भने । लुम्बिनी क्षेत्रबाट निर्वाचित सांसद खानले पुल नयाँ ठेक्का प्रक्रियामा गइसकेकाले एक वर्षमा निर्माणसम्पन्न हुने बताए । हुलाकी राजमार्ग सडक योजना कार्यालय कपिलवस्तुका इञ्जिनियर युवराज पाण्डेले पुल निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij