
सोमवार , आश्विन २५, २०७८
भैरहवा, २५ असोज ।
लुम्बिनी प्रदेशका १८ जना ‘प्रदेशस्तरीय कोभिड–१९ वरियर अवार्ड’ बाट सम्मानित भएका छन् । मायादेवी च्यारेटिबल फाउण्डेशन सिद्धार्थनगर, रुपन्देहीले प्रदेशस्तरीय कोभिड वारियर अवार्ड प्रदान गरेको हो । कोरोना महामारीको विषम परिस्थितिमा आफ्नो पेशा भन्दा माथि उठेर विशेष योगदान गर्ने व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको फाउण्डेशनका संस्थापक रवि कुमार रौनियारले जानकारी दिए । महामारीमा मानव जीवनको रक्षा तथा कोरोना महामारी रोकथामको लागि उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संघ–संस्थाको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको उनले बताए ।
विभिन्न बिधाबाट गरी लुम्बिनी प्रदेशमा अवार्ड पाउनेमा रुपन्देहीबाट भीम अस्पताल भैरहवाको स्वास्थ्यकर्मीहरुको समूह, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका प्रशासन संयोजक तेज कुमार केसी रहेका छन् । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापनमा खटिएको नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर कमिटी र २ सय ३५ वटा शव वयवस्थापन गरेको लुम्बिनी निर्माण व्यवसायी संघलाई गरी रुपन्देहीमा ४ वटा अवार्ड प्रदान गरिएको रौनियारले जानकारी दिए ।
त्यसै गरी नवलपरासी जिल्लाबाट परासीको पृथ्वीचन्द्र अस्पतालमा कार्यरत फूल कुमारी देवी सुनार, कपिलवस्तुबाट सामाजिक अभियन्ता रहिस शाह, प्युठानबाट वरिष्ठ नर्स राधादेवी केसी, प्रहरी सहायक निरीक्षक सरोज राना र जिल्ला प्रशासन कार्यालयकी नायब सुब्बा मन्जु कुमारी शाहलाई अवार्ड प्रदान गरिएको छ ।
रोल्पा जिल्लामा रोल्पा जिल्ला अस्पतालका डा. प्रकाश बहादुर बुढा, पाल्पाबाट पाल्पा जिल्ला अस्पतालका डा. झपेन्द्र ढकाल, बाँकेबाट भेरी अस्पतालका ल्याब असिष्टेन्ट प्रसन्न मिश्र, अर्घाखाँचीबाट शितगंगा नगरपालिकामा आइसोलेशन वार्डमा खटिएका बालकृष्ण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा र नेपाल रेडक्रस सोसाईटीका सभापति कुशल भुसालले अवार्ड पाएका छन् । गुल्मी जिल्लाबाट तम्घास अस्प्तालका रोशन घर्ती र पत्रकारतर्फ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई अवार्ड प्रदान गरिएको संस्थापक रौनियारले बताए ।
त्यस्तै फाउण्डशेनलाई अगाडी बढाउने बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ । ५ जना पत्रकारसहित ८ जनालाइ सम्मान गरिएको रौनियारले जनाए । सम्मानित हुने पत्रकारहरुमा राधेश्याम विश्वकर्मा, रबिन्द्र प्रताप गुप्ता, मनोरन्जन शर्मा, शारदा मल्ल र टोपराज शर्मा रहेका छन् । यस्तै अनिरुद्र अग्रहरी, अरुण मिश्र र शैलेश उपाध्यायलाई पनि सम्मानित गरिएको उनले जानकारी दिए ।
शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उक्त अवार्ड तथा सम्मान वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालमा कोभिड महामारी फैलिन नदिन विभिन्न व्यक्तित्वहरुले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गरेको चर्चा गरे । उनले सरकारको एकल पहलले मात्र यो रोग नियन्त्रणमा आउन असम्भव रहेको र सबैको साझा पहलले मात्र सम्भव भएको बताए ।
कार्यक्रममा पत्रकार स्व. विन्दु कुमार चौहानको छोरा अमित चौहानलाई २१ हजार रुपैयाँ प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij