२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

भैरहवामा ‘तुलसी द नेपाली अर्गानिक होम एण्ड अक्सी प्योर’ शुभारम्भ

आइतवार , आश्विन २४, २०७८

भैरहवा, २४ असोज ।
सिताके च्याउ र च्याउबाट बनेका विभिन्न तयारी तथा औषधीय उत्पादनहरुको विक्री वितरण भैरहवामा शुभारम्भ गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ चोकमा ‘तुलसी द नेपाली अर्गानिक होम एण्ड अक्सी प्योर’ मार्फत सिताके च्याउ, ग्यानो लगायतका अर्गानिक वस्तुहरुको विक्री शुभारम्भ गरिएको हो । भैरहवाका युवा व्यवसायी विनोद पराजुली र रितेश विष्टले करिब ८० लाखको लगानीमा अर्गानिक होम तथा अक्सी प्योर सञ्चालनमा ल्याएका हुन् । पाल्पाको लहरेपिपलस्थित भैरव च्याउ उद्योगसंगको समन्यमा उत्पादन विक्री गरिनेछ ।

विशेष गरेर नेपालको पहाडी भुभाग पाल्पामा बढी उत्पादन हुने सिताके च्याउलाई बजारीकरण गरी नेपालीको जीवनशैली स्वास्थ बनाउने उद्देश्यले सो अर्गानिक होमको शुभारम्भ गरिएको सञ्चालक रितेश विष्टले बताए । 

पाल्पाको मदन पोखराका करिब ५ सय कृषकले उत्पादन गर्दै आइरहेको च्याउखेतीलाई नयाँ प्रविधिको प्रयोग गरी दैनिक २ क्वीन्टलसम्म उत्पादन बढाउने लक्ष्य राखिएको ल्याव टेक्निसियन दिपेश अर्यालले जानकारी दिए । यसरी पहिलो शाखाको रुपमा सञ्चालनमा ल्याइएको द नेपाली अर्गानिक होमले करिब ५ सय परिवारका १० हजार जना सदस्यलाई रोजगारी प्रदान गर्ने दावी भैरव च्याउ उद्योग प्रा.लि.का लुम्बिनी प्रदेश संयोजक केशव कार्कीले बताए ।

अर्गानिक होमबाट तुलसी अर्गानिक गानोडार्मा, सिताके च्याउ, सिताके सुकुटी, सिताके क्रिम सुप पाउडर, लेमन ग्रास पाउडर, ग्यानो ईम्युन वुस्टर, ग्यानो कफी, सिताके सिन्की, मस्यौरा लगायतका तयारी उत्पादनहरु विक्री गरिने सञ्चालकले जनाएका छन् । यसका अलावा अर्गानिक होम एण्ड अक्सी प्योरमा शरिरमा अक्सिजनको लेवल बढाउने प्रविधि जडान गरिएको छ । जसबाट शरीर आलस्य हुने वा शरीरमा अक्सिजनको मात्रा कम भएको महसुस भएको खण्डमा लाभ लिन सकिने सञ्चालक विनोद पराजुली जानकारी दिए ।

यस्तै अर्गानिक होममा एरोमा थेरापी प्रविधि समेत राखिएको छ । जसले शरीरलाई स्फुर्ति बनाउन तथा शरीरमा रक्त संचारलाई राम्रो राख्नका लागि सहयोग गर्नेछ । ‘व्यस्त जीवनशैलीलाई अर्गानिक फुड (सप्लीपमेन्ट) र प्रविधिको माध्यमबाट तनावमुक्त बनाइ स्वस्थकर जीवनशैली बनाउन सदैव लागिपर्नेछौं,’ सञ्चालक पराजुलीले भने ।