२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

पुरस्कार राशीबाट नटुवा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

आइतवार , आश्विन २४, २०७८

भैरहवा, २४ असोज ।
आफूले पाएको पुरस्कारको राशीबाट मधेश मानव अधिकार गृह (माहुरी–होम) कपिलवस्तुले नटुवा समुदायका स्कुले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । माहुरी होमले लुम्बिनी सांस्कृतिक नगरपालिकामा बसोबास रहेका लोपोन्मुख अल्पसंख्यक नटुवा समुदायका विद्यालय जाने बालबालिकालाई हौसला बढाउन शैक्षिक सामग्री वितरण गरेको बताइएको हो ।

नटुवा समुदायका २९ घरधुरीका ८५ जना बालबालिकालाई विभिन्न ब्याग, कापी, कलम, जेमेट्री बाक्स, पेन्सिल, इरेजर, कटर र जाडोमा लगाउने स्वेटर लगायतका सामग्री वितरण गरिएको माहुरी होमले जनाएको छ । कपिलवस्तु जिल्लामा सो समुदायका ३९ घरधुरीका ९० जना बालबालिकालाई सामग्री वितरण गरिसकिएको बताउँदै माहुरी होमका अध्यक्ष रवि ठाकुरले यसबाट नटुवा समुदायका बालबालिकालाइ विद्यालय जान हौसला मिल्ने विश्वास व्यक्त गरे । अध्यक्ष ठाकुरले उज्वल थापा मेमोरियल फण्डबाट प्राप्त पुरस्कार राशी २ लाख २ हजारमा केही रकम थप गरेर लुम्बिनी प्रदेशभरीका नटुवा समुदायका स्कुले बालबालिकालाइ हौसला प्रदान गर्ने लक्ष्य रहेको बताए । उनले लुम्बिनी सांस्कृतिक नगरपालिकापछि अन्य ठाउँमा पनि वितरण गर्ने योजना रहेको बताए । शिक्षाबाट फिरन्ते लोपोन्मुख नटुवा समुदायको जीवनस्तर सुधार्न मद्दत मिल्ने भएकोले सबैलाइ सहयोग गर्न उनले आग्रह गरे ।

उज्वल थापा मेमोरियल फण्डले देशभरीबाट कोभिड–१९ मा राम्रो काम गरेकामध्ये ७ वटा संस्था छनौट गरी कोभिडबाट उपचारका क्रममा मृत्यु भएका उज्जवल थापाको उपचारबाट बचेको नगदबाट माहुरी होम कपिलवस्तुलाई पुरस्कृत गरेको थियो ।

 
पुरस्कृत हुँदाका बखत माहुरी–होमका अध्यक्ष रवि ठाकुरले नवलपरासीदेखि नेपालगंजसम्म छरिएर रहेका नटुवा समुदायका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धिका लागि शैक्षिक सामग्री वितरण गर्ने भन्दै मेमोरियल फण्डलाइ बाचा गरेका थिए । सो अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का वडाध्यक्ष विनोद कुमार श्रीवास्तवले जुनसुकै विपत र महामारीमा माहुरी होमले अल्पसंख्यक र विपन्न परिवारलाइ सहयोग गर्दै आएको भन्दै प्रशंसा गरे । उनले माहुरी होमको यस अभियानलाइ नगरपालिकाले साथ र सहयोग दिने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष विनोद कुमार श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी साँस्कृतिकनगरपालिका नागरिक सहकार्य मञ्चका अध्यक्ष जुबेर अहमद खान, समाजसेवी पारस शर्मा तथा माहुरी होमका रूपन्देही इञ्चार्ज विकास चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।