२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

लायन्स भैरहवा ग्रीन सिटीद्वारा बालगृहका बालबालिकालाई वस्त्र वितरण

आइतवार , आश्विन २४, २०७८

भैरहवा, २४ असोज । 
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले मन्दिर र मूर्ति पूजा गर्नु भन्दा सामाजिक र मानवीय सेवा नै वास्तविक धर्म भएको बताएकी छन् । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले आयोजना गरेको सिद्धार्थ बालगृहका बालबालिकाहरुलाई वस्त्र बितरण पश्चात बोल्दै उपप्रमुख काफ्लेले भनिन्, ‘यति बेला दुर्गा पुजा चलिरहेको छ  । ‘मन्दिरहरुमा भीडभाड छ, दुर्गाको मूर्तिहरु निर्माणमा धेरै खर्च भएको छ तर हजारौं मानिसहरु आज पनि के खाने के लगाउने भन्ने पीरलोमा छन् । 

उपप्रमुख काफ्लेले असली भगवानको पूजा मानवीय सेवा भएको बताइन् । उनले बालगृहका बालबालिकालाई बडादशैंको बेला लायन्स भैरहवा ग्रीन सिटीले गरेको सहयोग नै धर्मको रुप भएको बताइन् । उनले भनिन्, ‘धर्म भनेको यही हो, धर्म भनेको सेवा हो । ग्रीनसिटीले जुन काम गर्यो, त्यही धर्म हो । जहाँ सेवा गर्नुपर्ने हो, त्यही सहयोग पुगेकोमा म खुसी छु । यज्ञ भन्दा ठूलो कर्म हो । ’बस्त्र वितरण कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चोक बहादुर थापाले बालगृहका लागि आवश्यक जग्गा व्यवस्थापनमा सहयोग गर्ने बताए । कार्यक्रममा लायन्सका अभियन्ताहरुले सामाजिक सेवा भावले गरिएको कामले आफुहरुलाई खुसी बनाएको बताए ।

बालगृहमा रहेका १८ जना बालबालिकालाई कपडा वितरण गर्न पाउँदा आफूहरुलाई खुसी लागेको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए । कार्यक्रम संयोजक बिना पौडलले बालगृहमा रहेका बालबालिकाहरुलाई कपडाहरु दिन पाउँदा आफुहरुलाई पनि खुसी लागेको बताइन् ।

कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष प्रशान्तमणि रामदाम, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.,  लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका अध्यक्ष माया सुर्यबंशी, अमृत खनाल, लियो क्लब भैरहवा ग्रीन सिटीका अध्यक्ष नरेन्द्र बहादुर के.सी. लगायतले शुभकामना मन्तव्य राखेको क्लबका सचिव थानेश्वर पाण्डेले बताए ।