
आइतवार , आश्विन २४, २०७८
बुटवल, २४ असोज ।
सरकारले सेनेटरी प्याडमा कर बढाएको भन्दै रुपन्देहीमा प्रदर्शन गरिएको छ । लियो जिल्ला परिषद ३२५ बी २ नेपाल एरिया ४ ले लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रदर्शन तथा सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै रिजन १३ चेयरपर्सन तथा कार्यक्रम संयोजक श्रद्धा कुंवरले धेरैलाई अझै पनि प्याड के हो भन्ने थाहा नभएको र कतिपय महिलाले अहिले पनि महिनावारीमा टालो, कपडा प्रयोग गरिरहेका कारण महिलाहरु पठेघरमा क्यान्सर जस्ता रोगबाट शिकार भइरहेको बताइन् । उनले सडकमा पुरा नभएसम्म निरन्तर रुपमा विभिन्न कार्यक्रम जारी राख्ने बताइन् ।
एरिया–४ का चिफ सुमन अधिकारीले सेनेटरी प्याड महिलाहरुको अत्यावश्यक सामाग्री भएको हुनाले सरकारले सेनेटरी प्याडमा रहेको १३ प्रतिशत कर पूर्ण रुपमा हटाउनुपर्ने बताए ।
कार्यक्रममा महिनावारी हुनु हाम्रो रहर होइन बाध्यता हो, तिमीले बाध्यतालाई पैसा कहिलेसम्म तौलिने सरकार, सरकार महिनावारीमा कर कहिलेसम्म, महिनावारीको रगत छ र तिमी छौं, प्याडमा कर लगाउनु स्लाईनमा बिष मिसाउनु जस्तै हो, कण्डम रहर प्याड बाध्यता, महिनावारी राज्यलाई किन भारी, आयो है आयो दशैं अफर प्याडमा कर म नेपाल सरकार, नबस्नु है मेरो भर बाटोमा कराएनी मलाई के को डर भन्ने जस्ता नारा लेखिएको प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा अमृता खनाल, सम्झना खरेल, रितिका कार्की, आकृती ज्ञवाली, कविता सापकोटा, एलेस् मगर, पुजा ढकाल र रेजिना कार्कीले नाटक प्रस्तुत गरेका थिए ।
महिलाले महिनावारीको बेलामा सहनुपर्ने दुःख, पीडा, महिनावारीको बेलामा टालो, कपडा प्रयोग गर्दा निम्तिने समस्या र भविष्यमा त्यसले ल्याउने स्वास्थ्य समस्याका कारण पाठेघरको क्यान्सरबाट शिकार हुनुपर्ने नाटकमा देखाइएको थियो। कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बी २ नेपालका पदाधिकारी र बुटवल, भैरहवा, देवदह, तिलोत्तमा, कपिलवस्तु, सैनामैना क्षेत्रबाट लियो सदस्यहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij