२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

दुई किशोरको भारतबाट उद्धार

शुक्रवार , आश्विन २२, २०७८

भैरहवा, २२ असोज ।
भारतीय बाल गृहमा आश्रय लिइरहेका दुई किशोरहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारत र मानव कल्याण मित्र मञ्च नेपालले उद्धार गरेका छन् । भारत दिल्लीको फैजावाद बाल गृहमा तीन वर्षदेखि राखिएका प्रेम कार्की भनेर चिनिने सुमन परियार र भीम थापालाई उद्धार गरी नेपाल ल्याइएको हो । उनीहरुमध्ये सुमनलाई बिहिवार जिल्ला प्रहरी कार्यालय रुपन्देही मार्फत अभिभावकको जिम्मा लगाइएको छ भने भीमको परिवार फेला नपरेका कारण कोटिहवा बाल गृहमा राखिएको छ ।

प्रवासी नेपाली मित्र मञ्च भारतका अध्यक्ष विष्णु खनाल र दिल्ली राज्य अध्यक्ष बाबुराम थापाले बाल गृहबाट उद्धार गरिएका दुई किशोरलाई नेपाल ल्याएका थिए । मानव कल्याण मित्र मञ्चले किशोरहरुको घर ठेगाना पत्ता लगाउने, अभिभावकलाई बोलाउने लगायतको भूमिका निर्वाह गरेको थियो । सुमन परियार डुम्रेखोला १ सर्लाहीका हुन् । तीन वर्षअघि १२ वर्षको उमेरमा घरबाट भागेका सुमनलाई लिन आमा सीतामाया परियार आइपुगेकी थिइन् ।

‘घरबाट एकाएक छोरा हरायो, मावल लगायत आफन्तकहाँ खोजबीन गरें, सीताले भनिन्, ‘छोरी भए पो पीर मान्नु, छोरा हो आइहाल्छ भनेपछि बाटो हेरेर बसेका थियौं, संस्थाले खोजेर ल्याइदियो, निकै खुशी लागेको छ । भागेर भारतको दिल्ली पुगेका सुमन केही दिन काम गरेपछि रेल वे स्टेशनमा अल्मलिएका थिए । उनलाई प्रहरीले भेटाएर बाल गृह पठाएको थियो ।

रुकुमको सिस्ने ६ धाउने घर बताउने भीम थापा भने बाबु आमासँगै भारतको केरलाबाट फर्किदै गर्दा दिल्ली रेल वे स्टेशनमा हराएका थिए । १२ वर्षको उमेरमा हराएका थापालाई पनि प्रहरीले बाल गृह पठाएको थियो । बाल गृहमा उनीहरु रहेको प्रवासी नेपाली मित्र मञ्चले जानकारी पाउनासाथ नेपाली दुतावासको समन्वयमा उद्धार प्रक्रिया सुरु गरेको थियो । मानव कल्याण मित्र मञ्चले घर ठेगाना, अभिभावक र अन्य आवश्यक समन्वय मिलाएपछि उद्धार भएको थियो । मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले यस बर्ष मात्रै ११ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिए । प्रवासी नेपाली मित्र मञ्चका पूर्वअध्यक्ष समेत रहेका अर्यालले नेपाल बस्न थालेपछि पनि यही संस्था दर्ता गरी अलपत्र परेका वा हराएका नेपालीको उद्धार गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांकमा ४० बालक र १२२ बालिका हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको जानकारी महिला सेल इञ्चार्ज प्रहरी सहायक निरीक्षक मिनाकुमारी आचार्यले दिइन् । तीमध्ये ३० बालक र ८२ बालिका भेटिए पनि अन्यको भने अत्तोपत्तो छैन । वर्षेनी यसरी नै बालबालिका हराउने गरेको पाइन्छ ।