२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

मानव बेचबिखन नियन्त्रण गर्न तथ्यांक व्यवस्थापन आवश्यक

मंगलवार , आश्विन १९, २०७८

रुपन्देही, १९ असोज ।
मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि प्रभावकारी योजना निर्माण गर्न स्थानीयस्तरमा तथ्यांक व्यवस्थापन आवश्यक रहेकामा जोड दिइएको छ । माइती नेपालको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित तथ्यांक व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रमका सहभागीले मानव बेचबिखन रोक्नका लागि सरकार पक्षबाट योजना निर्माण तथा अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन तथ्यांक संकलन र व्यवस्थापन जरुरी रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले नगरका काम चुस्तदुरुस्त बनाउन तथ्यांक संकलन र व्यवस्थापन अनिवार्य भएको बताइन् । उनले बुटवललाई लैङ्गिक हिंसामुक्त सहर निर्माणका लागि रणनीतिक कार्ययोजना बनाएर काम अघि बढाइएकाले मानव बेचबिखन रोकथामलाई पनि यसमा समेटिएको बताइन् ।

समुदायमा बेचबिखन र हिंसामा पर्न सक्ने व्यक्ति तथा जोखिम समूह पत्ता लगाउन उपमहानगरका टोलटोलमा निगरानी समूह गठन गरिएको जानकारी गराउँदै उनले अब तथ्यांकलाई समेत थप व्यवस्थित गरेर कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गरिन् ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले तथ्यांक व्यवस्थित गर्न नसक्दा अनुमानकै भरमा काम गर्नुपरेको अनुभव सुनाइन् । उनले भनिन्, “तथ्याङ्कका आधारमा काम गर्दा कार्यक्रमको प्रतिफल राम्रो आउँछ तर अनुमानका भरमा कार्यक्रम गर्दा नतिजा राम्रो आउँदैन ।” उनले कम समयमा र कम लगानीमा गरिने कार्यक्रमको प्रतिफल नगण्य हुने भएकाले यसका लागि तथ्यांक संकलन र व्यवस्थापनमा ध्यान दिन आवश्यक भएको धारणा राखिन् ।

कार्यक्रममा सहजीकरण गर्दै माइती नेपालका अनुगमन तथा मूल्यांकन अधिकृत रवीन्द्र सापकोटाले जोखिममा परेका र जोखिमबाट बचेका समूहको एकीकृत तथ्यांक व्यवस्थापन र सूचना प्रणालीको विकास तथा जोखिमयुक्त समुदायको अनुगमन लगायतका विषय राष्ट्रिय कार्ययोजनामा समेटिएको जानकारी गराउँदै छिट्टै तथ्यांक संकलन र व्यवस्थापनको विषयलाई वडास्तरसम्मै पु¥याएर सरकारलाई सहयोग गर्ने बताए । उनले तथ्याङ्क व्यवस्थापनका लागि सफ्टवेयर निर्माणको तयारी भइरहेकाले त्यसका लागि सुझाव संकलनको काम भइरहेको बताए । कार्यक्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, इन्सेक प्रतिनिधि रिमा बिसी, प्रहरी सहायक निरीक्षक युवराज चन्द लगायतले छिटोछरितो कामका लागि तथ्यांब व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए । रासस