
बिहिवार , आश्विन १४, २०७८
भैरहवा, १४ असोज ।
रुपन्देहीको मायादेवी गाउँपालिका स्वास्थ्य सेवामा जिल्लामै पहिलो भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा रुपन्देहीका पालिका र अन्र्तगतका संस्थाहरुबाट सञ्चालित स्वास्थ्य सम्बन्धि गतिविधिहरु उत्कृष्ट सेवा गरेका कारण प्रथम घोषित गरिएको हो ।
स्वास्थ्य कार्यालय, रुपन्देहीले रुपन्देहीका पालिकाहरुलाई सम्मान गरेको छ । स्वास्थ्य सम्बन्धि सबै गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने मायादेवी गाउँपालिका प्रथम घोषित गरिएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालयले भैरहवामा आयोजना गरेकोमा कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मायादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयलाई पालिका प्रथम भएको प्रमाण पत्र हस्तान्तरण गरे । ३० वटा सूचकहरुमध्ये मूख्य मूख्य सूचकहरुको आधारमा मूल्यांकन गर्दा र प्राप्तांकको आधारमा समेत उत्कृष्ट देखिएको मायादेवी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।
यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका दोस्रो र देवदह नगरपालिका तेश्रो स्थान प्राप्त गरेको स्वास्थ्य कार्यालयमा तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले जानकारी दिए । ‘३० वटा सूचक र जम्मा पूर्णांक १ सय राखी पालिकाहरुको मूल्यांकन गरिएको थियो । जसमध्ये उत्कृष्ट नतिजा ल्याउने ३ पालिकालाई कदर पत्र प्रदान गरिएको छ ।’ – गुप्ताले भने ।
भैरहवामा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ता, स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत टुक प्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij