२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

वृहत्तर यौनिक शिक्षासम्बन्धी अन्तरक्रिया

बुधवार , आश्विन १३, २०७८

बुटवल, १३ असोज ।
वृहत्तर यौनिकता शिक्षासम्बन्धी बुटवलमा अन्तरक्रिया गरिएको छ । यो संवेदनशिल र आजको आवश्यकताको विषय भएको भन्दै किशोरकिशोरीहरुलाई यो शिक्षा दिन सके धेरै किसिमका स्वास्थ्य र सामाजिक समस्याहरु कम गराउन सकिने सहभागीहरुले बताए । लुम्बिनी प्रदेश सरकार, सिसो नेपाल, एफ पान, एमएसआईको संयुक्त आयोजनामा बुधबार बुटवलमा भएको वृहत्तर यौनिकता शिक्षासम्बन्धी प्रदेशस्तरीय सरोकारवालाहरुसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै सरोकारवालाहरुले वृहत्तर यौनिकता शिक्षा संवेदनशील विषय भएको बताए । 

कार्यक्रममा सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले युनेस्कोको गाईडलाईन अनुसार यौनिकता शिक्षालाई विश्वभरका देशहरुमा अनुसन्धान गरी सन २००९ मा सुरुवात गरी लागू गरेको बताए । औपचारिक र अनौपचारिक माध्यमबाट लिइन्छ र पाठ्यक्रममा आधारित हुनुपर्छ । यौनिकता शिक्षा अन्य भन्दा फराकिलो र रुपान्तरणीय छ । विश्वभरमा यौनिकता ब्रह्मचर्यमा आधारित र वृहत्तर गरी दुई प्रकारका छन् ।

किशोरकिशोरीहरुमा उमेर पुगेपछि यौन सम्पर्क गर्ने, लागूऔषधको प्रयोगमा कमी आएको र स्वास्थ्य सेवाको प्रेषण संख्या वृद्धि भएको, लैगिक हिंसा, लान्छना र भेदभाव कम भएको अध्ययनबाट देखिएको छ । शिक्षकहरुलाई दिइने तालिमबाट यो धेरै प्रभावकारी हुने भएकाले पनि शिक्षकहरुलाई तालिम दिने अगाडि बढाएको उनले बताए । युएनडिपीको सहयोगमा देशभर १ सय ५ जना तालिम दिन सक्ने शिक्षक तयार गरेको उनले बताए । 

कार्यक्रममा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टिकाराम अर्याल, स्वस्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका डा पुष्पराज पौडेल, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव शारदा बस्याल, शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख भोज केसीले संवेदनशील विषय भएकाले पनि यसलाई वृहत्तर रुपमा लैजाने योजनासहित सरकार लागेको बताए।

युएनएफ पिएका प्रदेश संयोजक राम थापाले प्रदेशमा भइरहेका प्रयासहरुका बारेमा जानकारी दिदै जातीय र संस्कारगत रुपमा केही कठिनाई रहेको बताए । युवाहरुमा यौनको विषयमा ज्ञानको अभाव हुँदा समाजमा घटनाहरु देखिदै आएको उनले बताए । घरपरिवारको बाध्यता, संस्कारका कारण पनि युवाहरुमा धेरै किसिमका स्वस्थ्य जटिलताको समस्या झेल्नुपरेको उनले दुःखेसो गरे । यौन तथा प्रजनन स्वस्थ्य, युवा तथा किशोरकिशोरीमा नेतृत्व विकासलाई समेत जोडेको उनले बताए । लुम्बिनी प्रदेशमा ५५ हजार बढी विद्यालय बाहिर रहेको तथ्यांकमा देखिएको छ ।