२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

तिलोत्तमामा रेबिजविरुद्धको खोप अभियान

बुधवार , आश्विन १३, २०७८

भैरहवा, १३ असोज । 
विश्व रेबिज दिवस–२०७८ को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा रेबिजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा तिलोत्तमा नगरपालिकाले खोप अभियान सञ्चालन गरेको हो । असोज १२ गतेदेखि सुरु भएको रेविज विरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने तिलोत्तमा नगरपालिका पशु शाखाले जनाएको छ । 

असोज १२ गते वडा नम्बर १, २ र ५ मा तथा १३ गते वडा नम्बर ३, ४ र ६ मा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै असोज १४ गते वडा नम्बर ८, ११ र १२ मा, १५ गते वडा नम्बर ९ र ७ मा असोज १६ गते वडा नम्बर १३ र १४ मा, असोज १७ गते वडा नम्बर १० र १७ मा तथा १८ गते वडा नम्बर १५ र १६ मा यो अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले बताए । सामुदायिक कुकुर जुन छाडा छोडिएका छन्, तिनलाई मुख्य प्राथमिकतामा राखेर रेबिजविरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई लगाइने उनले बताए ।

रेबिजविरुद्धको खोप अभियानमा नगरपालिका अन्तर्गत पशु शाखाका प्राविधिकहरु खटिएका छन् । रेबिज रोग कुकुर तथा अन्य जंगली जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज संक्रमित जनावरले टोक्दा र्यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानीदेखि डराउने लगायतका लक्षण देखिन्छ ।

घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले हात धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि तिलोत्तमा नगरपालिकाले अनुरोध गरेको छ । नगरप्रमुख वासुदेव घिमिरेले १७ वटै वडामा सञ्चालन भएको खोप अभियानमा आफ्ना घरपालुवा कुकुरलाई सहभागी गराउने काममा सहयोग गर्न नगरबासीलाई आग्रह गरे । ‘यो अभियानमा भुस्याहा कुकुरका साथै धेरै भन्दा धेरै घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने हाम्रो योजना छ’–उनले भने । उनले वडा कार्यालयको स्वीकृतिमा मात्रै कुकुर पाल्ने गर्ने नगरपालिकाले कार्यविधि बनाउन लागेको पनि जानकारी दिए ।