शुक्रवार , आश्विन ३०, २०८३
बुटवल, ३० असोज । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि ३० बेड क्षमताको उच्च निर्भरता एकाइ (एचडीयू) सेवा सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. विष्णु प्रसाद गौतमले सेवाको औपचारिक शुभारम्भ गर्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गर्नुभयो।
सेवा सञ्चालनको पहिलो दिन ५ जना बिरामीलाई उपचार सेवा प्रदान गरेर यसको सुरुवात गरिएको छ । हाल आंशिक रूपमा सुरु गरिएको एचडीयू सेवा दशैंपछि पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याइने मेसु डा. गौतमले बताउनुभयो ।
अस्पतालमा एचडीयू सेवा सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय उपचारसँगै आइसीयूको चाप घट्ने विश्वस व्यक्त गर्नुभयो । सेवाग्राहीको माग र चाप अनुसार आवश्यक सुधार तथा विस्तार गर्दै जनताको भरोसायोग्य उपचार केन्द्रको रुपमा स्थापित गर्न विकास समिति लागिरहेको उहाँले बताउनुभयो । यसका लागि विकास समिति, अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, कर्मचारी तथा तीनै तहका सरकारको साथ आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै अस्पताल विकास समिति सदस्य कल्पना ढकालले सेवालाई प्रभावकारी बनाउन समितिले अधिकतम समन्वय तथा पहलका लागि कटिबद्ध रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । अस्पतालमा एचडीयू सेवा प्रारम्भ हुनु सुखद कुरा भएको बताउँदै ढकालले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सामूहिक भावना जरुरी रहेको उल्लेख गर्नुभयो ।
विशेष सघन निगरानी चाहिने बिरामीहरूलाई समयमै उचित सेवा प्रदान गर्न यसले ठूलो सहयोग पुर्याउनेछ भने अन्यत्र बिरामी प्रेषण (रिफर) गर्नुपर्ने बाध्यतामा समेत कमी आउने विश्वास लिइएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले बताउनुभयो ।
मेडिसिन विभागका प्रमुख डा. पुष्पराज जोशीका अनुसार, आईसीयूमा बिरामीको चाप बढिरहेको अवस्थामा अलि कम सिरियस तर, भेन्टिलेटनचाहिने बिरामीहरूलाई एचडीयूमा राखेर उपचार गर्न पाउँदा सेवाग्राहीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । यसले गर्दा आईसीयूको चाप घट्नेछ र थप गम्भीर (सिरियस) बिरामीहरूले आईसीयूमा अवसर पाउने डा.जोशीले बताउनुभयो ।
डा. ज्ञानबहादुर मानन्धरले अस्पतालमा थपिएका नयाँ–नयाँ सेवा विस्तारले सेवाग्राहीसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा समेत उत्साह थपिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभागीय प्रमुखहरु लगायत विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको नर्सिङ विभाग प्रमुख नेहा थापाले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij