
शनिवार , आश्विन १०, २०७७
बुटवल, १० असोज ।
कोरोना भाइरस संक्रमणबाट बच्न सतर्कता र सजगता अपनाउनुपर्ने विज्ञहरुको सुझाव दिएका छन ।
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४३ औ नियमित बैठक तथा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ अन्तरगत स्वस्थ्य निर्देशनालयका चिकित्सा तथा रोग नियन्त्रण शाखाका ल्याब अधिकृत गोपाल गौतमले मानिसको नाक, मुख र आँखाबाट भाइरस प्रवेश गर्ने भन्दै यसमा सचेतना अपनाउन सुझाव दिए ।
यो भाइरस विस्तारै सक्रिय हँुदै जाने र लक्षण देखिने उनले बताए । प्रदेश ५ मा कोरोना संक्रमणबाट निको हुने दर ७६ प्रतिशत हुनु सकारात्मक भएको उनको दावी छ । अहिलेसम्म प्रदेशमा १ लाख २० हजार २ सय ९० जनाको स्वाव लिएकोमध्ये ९ हजार ९ सय ४७ जनाको पोजिटिभ रिपोर्ट आएको उनले बताए । त्यसै गरी प्रदेशमा २ हजार २ सय १३ वटा सेम्पल प्रोसेसिङमा छ ।
प्रदेशमा सरकारी तथा निजी गरी ९ वटा ल्याबबाट पीसीआर परीक्षण भइरहेको उनले बताए । नेपालमा ७० हजार ६ सय १४ जना कोरोना भाइरस संक्रमित छन भने ५१ हजार ८ सय ६७ जना निको भएर घर फर्किएका छन ।
त्यसै गरी अहिलेसम्म ४ सय ५९ जना मृत्यु भएको छ । विश्वमा ३ करोड २४ लाख व्यक्ति कोरोना संक्रमित र ९ लाख ८७ हजारको मृत्यु भएको उनले बताए । अमेरिकामा मात्र ७१ लाख संक्रमित र २ लाख मृत्यु भएको उनले बताए ।
कार्यक्रममा कान्तिपुर पब्लिकेशन प्रदेश ५ का प्रमुख दिपेन्द्र बडुवालले कोभिड–१९ को संक्रमणमा पत्रकारिता निक्कै चुनौतिपूर्ण भएको बताए । प्रकृतिलाई मानिसले दोहन गर्दा अहिले मानिस समस्यामा आईपरेको तथ्य बाहिरिएको उनले बताए । यो महामारीमा पत्रकारिता क्षेत्रमा ठूलो असर परेको दुःखेसो गर्दै उनले सुचना, शिक्षा र मनोरञ्जन दिने काम मिडियाले गर्ने भएकाले पनि हरेक क्षेत्रलाई मिडिया चाहिने बताए ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले नेपालीका लागि समयवद्घता सबैभन्दा महत्वपूर्ण विषय भएको बताए । त्यसै गरी कोभिडविरुद्ध धेरै सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेर क्लब अघि बढेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का सदस्य विक्रम खड्का, क्लबका सदस्य संजय श्रेष्ठ, सपना तामाङले सामाजिक उत्तरदायित्व अन्तरगत क्लब विभिन्न कामहरु गर्दै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij