२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

१० वर्षिय बालिकाको उपचारका लागि आर्थिक सहयोग

आइतवार , आश्विन १०, २०७८

भैरहवा, १० असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले १० वर्षिय बालिकाको उपचारको लागि आर्थिक सहयोग गरेको छ । क्लबले बर्दिया घर भइ हाल बुटवल उपमहानगरपालिका-११ स्थित देवीनगर बस्ने १० वर्षिय निकिता थारुलाई सहयोग गरेको हो । भैरहवामा आयोजित एक कार्यक्रमकाबीच क्लबले निकिताको आमा रेजिना थारुलाई ४१ हजार रुपैयाँ प्रदान गरेको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष मञ्जु खरेलले बताइन् । अध्यक्ष खरेलका अनुसार बालिका सिकलसेल एनिमियाबाट पीडित छिन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ लायन्सले विपन्नलाई सहयोग गर्दा गर्व र खुशीको अनुभुति भएको बताए । उनले भने, ‘सम्पूर्ण लायन्स क्लबले जे जति काम गर्नुभएको छ, त्यो सराहनीय छ, ’सहकार्य गर्दै अगाडी बढ्नुपर्छ । 

लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका संस्थापक अध्यक्ष तथा रिजन चेयरपर्सन अनिता थापाले बालिकाको शिघ्र स्वास्थ्य लाभको कामना गरिन् । उनले बालिकालाई आगामी दिनमा पनि क्लब सहयोग गर्न तयार रहेको बताइन् । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक प्रोग्राम मेम्बर तथा लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्यले लायन्स सिद्धार्थनगर लोटस स्थापना भएको पाँच वर्षमा उल्लेखनीय कार्य गरेको बताए । उनले क्लबले आगामी दिनमा पनि रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले लायन्सको सदस्य हुनु गर्वको अनुभुति भएको बताइन् ।

बालिकाका अभिभावक रेजिना थारुले छोरी निकिताको बुटवलस्थित महिला तथा बाल अस्पताल (आम्दा)मा उपचार भइरहेको बताइन् । उनले लायन्स सिद्धार्थनगर लोटसबाट सहयोग पाउँदा आफू धेरै खुशी भएको बताइन् । लायन्स सिद्धार्थनगर लोटसका अध्यक्ष मञ्जु खरेलको अध्यक्षता, द्वितीय उपाध्यक्ष रुपमाया पुनको स्वागत, निर्देशक सिर्जना जोशीको ध्वजा अभिवादन तथा क्लबका तृतीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।